|

पर्सा : कोरोना संक्रमणको केन्द्र बनेको पर्सामा थ्रोट स्वाव संकलन सुस्ताएको छ। पर्सामा प्राप्त पिसिआर किट तथा स्वाब संकलन गर्ने सामग्री सकिएको नारायणी अस्पतालले जनाएको छ।

पिसिआर किट तथा स्वास्थ्य सामग्री नै नभएपछि संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको थ्रोट स्वाब संकलन प्रभावित भएको छ। स्थानीय सरकार, प्रमुखदेखि प्रदेश र केन्द्र सरकारका जिम्मेवार निकाय र व्यक्तिलाई पटक–पटक पिसिआर किटलगायतको स्वास्थ्य सामग्री सकिन थालेको भन्दा समेत अभाव खट्किएको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन्।

चिकित्सकको कुरा कसैले सुन्दैन  

आफूहरुले भनेको कुरा कसैले नसुन्दा यस्तो अवस्था आएको कोभिड अस्पतालका रुपमा रहेको नारायणी अस्पतालका चिकित्सकहरुको गुनासो छ। हरेक पटकको सर्वदलीय तथा सुरक्षा समितिको बैठकमा समेत नारायणी अस्पतालका चिकित्सकले यो कुरा उठाउँदै आए पनि वास्ता नगरिएको उनीहरुको भनाइ छ ।

इमर्जेन्सीमा कुनै केश आइपुगे त्यसका लागि केही थान राखिएका पिसिआर किट लगायतको स्वास्थ्य सामग्री सकिएको आफूले पनि सुनेको कोभिड–१९ कमाण्ड पोष्ट पर्साका सदस्यसमेत रहेका नेपाली सेनाको वीरगञ्जस्थित चण्डीप्रसाद गणका गणपति मदनजंग राणाले बताए। पिसिआर किट सकिएको कारण तीव्र रुपमा स्वाव संकलन गर्न हुन नसकेको उनले बताए। 

कोरोना समुदायमा परीक्षण कार्य ओझेलमा 

पर्सामा मंगलबारसम्म ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समुदायमा नै कारोना संक्रमण बिस्तार भइसकेको अवस्थामा परीक्षण तीव्र गर्नुपर्ने हुन्छ। तर, पिसिआर किट नहुँदा परीक्षण कार्य नै जिल्लामा खुम्चिएको छ। 

संक्रमितको पहिचान, स्वाब संकलन, बिरामीको अवस्थालगायतको अवस्थाबारे पछिल्लो समयमा खुलेर बोल्न कोही चाहँदैनन्। यहाँका जिम्मेवार व्यक्तिहरुका मोबाइल अफ गरिएको छ। 

अत्यावश्यकीय सबैका सवारी चले पनि पत्रकारलाई रोक 

गत बैशाख ३० मा पर्सामा दुई सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चारकर्मीका सवारीसाधन सञ्चालनमा बन्देज लगाइएको छ। सोही दिनदेखि निषेधाज्ञा हटे पनि सञ्चारकर्मीका सवारी चलाउने अनुमति भने जिल्ला प्रशासन कार्यालयबाट मिलेको छैन।

सवारी चल्न नसकेपछि फोन सम्पर्कबाट काम चलाउनु पर्ने सञ्चारकर्मीको बाध्यतामा नारायणी अस्पताल, जनस्वास्थ्य कार्यालय, वीरगन्ज महानगरपालिका कार्यालयजस्ता स्वास्थ्य क्षेत्रका लगायतका जिम्मेवार व्यक्ति सम्पर्कमा आउनै छोडेका छन्। केहीको नम्बरमा फोन लागे पनि उठ्न छोडेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी पनि अधिकांश समय विभिन्न बैठकमा रहनु पर्ने कारण सञ्चारकर्मीले चाहेको समयमा सूचना पाउन पनि सकस भएको छ।

साढे दुई हजार का भएन परीक्षण

कोरोनाको संक्रमणको केन्द्रको रुपमा रहेको पर्सामा दुई हजार ५०० व्यक्तिको पिसिआर परीक्षण हुन सकेको छैन। एक स्वास्थ्यकर्मीका अनुसार दुई हजार साढे ३०० जति मात्र स्वाब संकलन भएको भएको हुन सक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.