भारतबाट मङ्गलबार मात्रै ८० जना आए

|

झापा (भद्रपुर) : १० जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि दक्षिणी झापाको कचनकवल गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ। 

भारतबाट लुकिछिपी भित्रिने नेपाली नागरिकलाई सीमा रोक्नुका साथै गाउँघरमा प्रवेश गर्न नदिन उच्च सतर्कता बढाइएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए। 

पछिल्लो समयमा गाउँपालिकामा कोरोनाको त्रास बढेसँगै बुधवार गाउँपालिकाका जनप्रतिनिधिसहित सर्वपक्षीय बैठक बसेको थियो। बैठकले गाउँपालिकाका सातवटै वडा सिल गर्ने निर्णय गरेको अध्यक्ष आलमले बताए। मङ्गलबार पाँचवटा वडा सिल गरिएकोमा बुधवार पुरै गाउँपालिका जेठ ११ गतेसम्मका लागि सिल गरिएको उनले बताए। 

‘अहिले गाउँपालिकामा छिमेकी स्थानीय तहबाट पनि कसैलाई प्रवेश गर्न दिइएको छैन, सम्पूर्ण पसलहरू पनि बन्द गरेका छौँ,’ उनले भने, ‘अति आवश्यक सवारीसाधन बाहेक मोटरसाइकलसमेत चल्न दिइएको छैन, सिल गराउनेमा स्थानीय प्रहरी प्रशासन र राजनीतिक दलहरूले पनि सहयोग गरेकf छन्‌।’ अति आवश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन गाउँवासी समक्ष उनले अनुरोध समेत गरेका छन्। 

थप ६५ जनाको स्वाब सङ्कलन

पथरिया माविको क्वारेनटाइनमा भारतको मुम्बई र दिल्लीबाट लुकिछिपी आएका ३३ जना नेपाली नागरिकलाई राखिएको थियो। उनीहरूको स्वाब परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएको थियो। 

त्यसमध्ये १० जनाको कोरोना पुष्टि भएको छ, भने २३ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। उनका अनुसार मङ्गलवार लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगी क्वारेनटाइनमा बसेका एक महिलासहित ६५ जनाको स्वाब सङ्कलन गरिएको छ।

उनीहरूको स्वाब परीक्षणका लागि विराटनगर पठाइएको छ। उनीहरू पनि भारतका विभिन्न राज्यबाट आएका हुन्। 

मङ्गलबार मात्रै भारतबाट ८० जना आए

गाउँपालिकाका नौ जनामा कोरोना पुष्टि भएकै दिन भारतबाट ८० जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। उनीहरू भारतको विभिन्न राज्यबाट घर फर्किएका हुन्। 

पाठामारी नाकाबाट २३ र केचना नाकाबाट ५७ जना नेपाली नागरिक गाउँपालिकामा प्रवेश गरेको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए। उनीहरूलाई ल्याएर सोजै क्वारेनटाइनमा राखिएको छ। ‘मङ्गलबार थप दुईवटा क्वारेनटाइन बनाएका छौ,’ गाउँपालिकाका अध्यक्ष आलमले भने, ‘जानकी आधारभूत पाठामारीमा २३ र महेन्द्ररत्न मावि केचनाको क्वारेनटाइनमा ५७ जनालाई राखेका छौँ। उनीहरूको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको छ।’ 

कचनकवलको सीमा क्षेत्रमा आज (बुधबार) पनि ५० जना आएर बसेको जानकारी प्राप्त भएको बताउँदै उनले भने, ‘केचनामा ३५ र घेराबारी नाकामा १५ जना रहेका छन्। उनीहरूलाई पनि क्वारेनटाइनमा ल्याएर राखिन्छ।’ अब बनियानीमा रहेको लक्ष्मी माविमा पनि एक सय बेडको क्वारेनटाइन बनाउने विषयमा तयारी भइरहेको उनले बताए।

हाल गाउँपालिकाका क्वारेन्टाइनमा १६५ जना बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.