तत्काल क्वारेन्टाइन राख्‍ने तयारी

|

काठमाडौं : स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले  स्वास्थ्य सेवा विभागले संक्रमण नियन्त्रणमा नियमित काममा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको संक्रमण जाँच गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको रोकथामको लागि  अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकमा कोरोना भाइरस पुष्टि भएपछि सरकारले यो कदम चालेको हो।

जाँचको रिपोर्ट नआउन्जेल विभागले कुनै होटल भाडामा लिएर उनीहरूलाई क्वारेन्टाइन राख्ने पनि तयारी गरेको छ। काममा खटिएका कर्मचारीलाई राख्नका लागि होटल खोजिरहेको मन्त्रालय स्रोतले बताएको छ। स्रोतले भन्यो, ‘ फ्रण्टलाइनमा सहभागी चिकित्सकमा भाइरस पुष्टि भएपछि एकपटक सबैको परीक्षण गर्नुपर्ने देखिएकोले हामीले हाम्रो गाइड लाइनअनुसार नै फिल्डमा खटिएका कर्मचारीको पिसिआर जाँच गर्न लागेका हौँ।' स्रोतका अनुसार रिपोर्ट नआउन्जेल उनीहरूलाई कुनै होटलमा  नै राखेर व्यवस्थापन गरिनेछ।

परीक्षणको रिपोर्ट आएपछि अवस्था हेरी उपचारका लागि अस्पताल पठाइने वा  १४ दिन  घरमै सेल्फ आइसोलेसनका लागि पठाउने तयारी गरिएको छ। त्यसरी १४ दिनपछि पुन: परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा सामेल गराउने तयारी गरिएको मन्त्रालय स्रोतले बताएको छ।

पहिलो चररणमा हाल विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलगायत स्वास्थ्यकर्मीको परीक्षण गरिने र त्यसपछि मन्त्रालयका उच्च अधिकारीहरूको परीक्षण गर्ने तयारी भएको बताइएको छ।

कोरोना भाइरसको संक्रमणमा परेका स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक रिपोर्ट आउनु अघिल्लो दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूसँग बैठकमा सहभागी रहेको खुलेपछि कोरोना परीक्षण  गरिन लागेको हो।

हिजो संक्रमित देखिएका चिकित्सक कपिलवस्तुको विभिन्‍न  इलाकामा कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका थिए। उनी गत सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर (एचईओसी)को २० भन्दा बढी उच्च अधिकारीहरू सम्मिलित बैठकमा सहभागी भएको खुलेपछि अहिले मन्त्रालयमा त्रास छाएको छ। 

एचइओसीको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरूसमेत सहभागी हुने गरेका छन्। मन्त्रालयको कोरोना नियन्त्रणसम्बन्धी सम्पूर्ण गतिविधि एचइओसीबाट नै चल्ने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.