|

डडेल्धुरा : कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरू समस्यामा परेको छन्।

ग्रामीण क्षेत्रहरू तथा बजारमा दैनिक मजदुरी गरी घर चलाउने मजदुरहरूलाई कोरोना रोगलेभन्दा भोकले बढी पिरोली रहेको छ। लकडाउनका कारण डडेल्धुरा जिल्लाका विभिन्न ठाउँमा काम गर्ने मजदुरहरुले दैनिक उपभोग्य सामग्रीको अभाव भोग्न थालेपछि कामका खोजी गर्दै जिल्ला सदरमुकाममा धाउन थालेका छन्।

अमरगढी नगरपालिका वडा नं.७ पोखरा घर भएकी ४५ वर्षीया मनु दमाईं दैनिक ज्यालादारी मजदुरी खोज्न बिहानै जिल्ला सदरमुकाम धाउने गरेकी छन्। ७ जनाको परिवार रहेकी मनुले नै दैनिक ज्यालादारी गरी घरखर्च चलाउँदै आएकी छन्।

‘७ जनाको परिवार छ जेठो छोरा रोजगारीका लागि भारत गएको केही दिनमै कोरोना रोगले उतै अलपत्र परेको छ। उनी भन्छिन्, ‘काम गर्न नपाएको ४०/४१ दिन भयो मजदुरी गरी जम्मा गरेको खाद्यान्न पनि सकिएर पुनः कामको खोजी गर्दै आएको हुँ।’

रोगभन्दा भोकले मर्ने चिन्ता

स्थानीय तहले दिएको १९ केजी चामल, १ किलो दाल, १ किलो नुन र २ वटा साबुन ४/५ दिन मात्रै पुगेको उनले बताइन्। कोरोना रोग आउनुभन्दा पहिले जिल्ला सदरमुकाममा सजिलै मजदुरी पाइन्थ्यो तर यो रोग आएपछि मुस्किलले पाइन्छ त्यहीँ काम गर्न पनि रोगले संक्रमण गर्ने पो हो की भन्ने मनमा डर हुन्छ। मनमा डर भए पनि पेट पाल्नका लागि काम गर्नैपर्‍यो। उनले भनिन् ‘के गर्नु हजुर भोकले मर्नुभन्दा रोगले मर्नु राम्रो छ गरिबलाई!’

डडेल्धुरा अमरगढी नगरपालिका ७ पोखराकी बेलु कैनीको पनि यस्तै समस्या रहेको छ। उनी पनि नियमित मजदुरी गरी घरपरिवार चलाउँदै गर्छिन्। उनले भनिन,‘स्थानीय तहले दिएको १० किलो चामल सकिएपछि लकडाउनको समयमा पनि कामको खोजी गर्दै सदरमुकाम पुग्नु परेको छ।’

कोरोना रोग फैलिन नदिनका लागि सरकारले पटक पटक लकडाउनको समय थप्दै गएपनि मजदुरहरु भने कामको खोजी गर्दै जिल्ला सदरमुकाम र निर्माण कम्पनीहरुमा दिनहुँ धाउने गरेका छन्।

डडेल्धुराको अमरगढी–५ की भागा श्रेष्ठ उमेरले ४५ वर्षकी भइन्। तर, पनि उनिमा युवाको जस्तो जोस जागर छ। उनका श्रीमान पनि जिल्लाकै एक संस्थागत विद्यालयमा पुस्कालयमा शिक्षकको रुपमा काम गर्छन्। उनको घरमा दुई छोराहरु पनि छन्। दैनीक ज्याला मजदुरी गरेर नै उनि छोराछोरीको पढाई खर्च र घरखर्च चलाउँछिन्।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि भने उनलाई साँझ–बिहानको छाँक टार्नसमेत समस्या भएको छ। लकडाउन गरेको १५ दिनसम्म घरमै बसेपनि अहिले भने घरमा खानेकुराको अभाव हुन थालेपछि उनी काम खोज्दै हिँड्न थालेकी छन्।

अमरगढी नगरपालिकाले मजदुर भनेर १० केजी चामल, १ किलो दाल, १ किलो नुन र २ ओटा साबुन वितरण गरेको भए पनि ४ जनाको परिवारमा त्यो राहत ५ दिन पनि नपुगेको उनले बताइन्। दैनीक ज्याला मजदुरी गरेको १५÷२० वर्ष भएपनि मजदुरहरुको दिन कहिलै नआएको दुखेसो उनले पोखिन्। सरकारी दररेट ६ सय भएपनि आफूहरुलाई ५ सयको दरले पारिश्रमिक दिने गरेको श्रेष्ठले बताइन्।

श्रेष्ठ मात्रै होइन डडेल्धुराका अरु मजदुरहरुको अवस्था पनि उस्तै दयनीय छ। पाएको राहत आफूहरुका लागि प्रयाप्त नभएकोले दैनिक मजदुरी गर्न काम खोजिरहेको खन्मडाका मजदर हरि कैनीले बताए। लकडाउनका कारण कामकाज ठप्प हुँदा समस्या भएको उनको भनाइ छ। दैनीक मजदुरी गर्दा कोरोनाको जोखिम भएपनि आफूहरु सुरक्षा सामाग्री विनानै काम गरिरहेको उनको दुखेसो छ।

‘आफ्नो र परिवारको पेट पाल्नको लागि भएपनि काम गर्नु नै पर्छ। घरमा बसेर पनि के गर्ने। राहत पनि अहिलेसम्म पाएका छैनौं।’ उनले भने, ‘राहत आयो भन्छन् तर हामीलाई दिएको केही छैनन्। यो लकडाउनका बेला पनि काम गरेरै छाँक टारिरहेका छौं।’

हुने खानेले आफ्नो परिवारलाई खाध्यान्नको जोहो गरेकै छन्। अहिले लकडाउनका कारण विकास निर्माणका कामहरूसमेत ठप्प रहेकोले उनीहरुले नत काम पाएका छन् नत खान पाएका छन्।

कम पारिश्रमिक दिने गरेको गुनासो

आफूसँग भएको अलिअलि अन्‍न रित्तिएपछि कामको लागि भौतारिरहेको उनीहरू बताउँछन्। पुरुषको तुलनामा आफूहरुले बढी काम गर्ने गरेको भएपनि आफूहरुलाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उनीहरूको गुनासो छ।

जिल्ला सदरमुकाम नजिक ज्यालादारी गर्ने मजदुरहरु निर्माण कम्पनी तथा ठेकेदारहरूकोमा काम खोज्दै हिडेका देखिन्छन् भने ग्रामीण क्षेत्रमा मजदुरी गर्ने मजदुरहरु भने नदि किनारा तथा सडक छेउछाउमा बालुवा, गिट्टी तथा ढुंगा संकलन गरि बेच्ने कार्यमा देखिन्छन्।

जिल्लाका ७ वटै स्थानीय तहहरुले गरिब तथा दलित परिवारका लागि राहत वितरण गरिरहेका भए पनि त्यो राहत पर्याप्त हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.