कञ्चनपुर : नेपाली सेनालाई कञ्चनपुरका पाँचवटा क्वारेन्टाइनको सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी दिइएको छ। भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका चार र अन्य एक गरी पाँचवटा क्वारेन्टाइनको सुरक्षा व्यवस्था नेपाली सेनालाई दिइएको हो।
जिल्ला प्रशान कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार बेलौरी नगरपालिकाको नयाँ भवनमा रहेको क्वारेन्टाइन, पुनर्वास नगरपालिकाको भागेश्वर माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टाइन, बेलडाँडी गाउँपालिकाको सिद्धेश्वर माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टाइन, महाकाली नगरपालिकाको गणेशपुर आधारभूत विद्यालयमा राखिएको क्वारेन्टाइन र लालझाडी गाँउपालिकाको भानु माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टाइन नेपाली सेनाले हेर्ने गरी निर्णय गरिएको छ।
सुरक्षा व्यवस्था नेपाली सेनाले हेर्ने गरी तोकिएका क्वारेन्टाइनमा भारतबाट फर्केका नेपालीहरुलाई राखिएको छ। लामो समयदेखि भारतमा क्वारेन्टाइनमा बसेर कञ्चनपुर पठाइएका व्यक्तिहरुलाई उनीहरुको स्थायी ठेगाना भएका २५ जिल्लामा पठाउने व्यवस्था समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए।
कञ्चनपुरका नौवटै स्थानीय तहका क्वारेन्टाइनमा ५१२ जनालाई राखिएको छ। स्थानिय तहका क्वारेन्टाइनमा बेड संख्या ७२३ रहेको छ। भारतबाट फर्कनेहरुको संख्या बढ्दै गएपछि स्थानीय तहले क्वारेन्टाइनको क्षमता समेत बढाउन सुरु गरेका छन्।
कञ्चनपुरमा भारतबाट फर्केका ७०० जना क्वारेन्टाइन अवधि पूरा गरेर घर गएका छन्। हालसम्म कञ्चनपुरका छ हजार २०९ जना भारतबाट फर्केका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।