|

बैतडी : लकडाउनका कारण बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाटमा ९ दिनदेखि किरियामा बसेका ४ जनालाई स्वदेश फर्काइने भएको छ। जिल्ला प्रशासनका तर्फबाट ८ दिनअघि पिथौरागढस्थित डिएम कार्यालयलाई किरिया गरेकालाई पठाइदिन पत्र लेखिएको थियो। तर भारतीय पक्षको निर्णय नहुँदा किरियापुत्रीहरुलाई यसअघि स्वदेश फर्काउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। 

डिएम कार्यालय सहमत भएपछि झुलाघाट नाकाबाट शुक्रवार (आज) किरियापुत्रीहरुलाई स्वदेश फर्काउने तयारी भएको हो। साथै केही भारतीयलाई पनि पठाउने तयारी भइरहेको नेगीले बताए। 

बुवा गुमाएका दुई जना, आमा गुमाएका एक जना र  श्रीमती गुमाएका ए जना गरी ४ जना भारतीय क्‍वारेन्टाइनमा किरियामा बसेका छन्। क्‍वारेन्टाइनमै किरियामा बस्नुपर्दा निकै समस्या भएको उनीहरुले बताएका छन्। 

बैतडीको सुर्नया गाउँपालिका राजेन्द्रप्रसाद भट्ट र तारा भट्टका बुवा बितेपछि उनीहरु भारतीय क्‍वारेन्टाइनमै किरियामा बसेका हुन्। यस्तै पुर्चौैंडी नगरपालिका ७ का ठगी साउँद पनि आफ्नी आमाको किरिया भारतीय क्‍वारेन्टाइनमै बसेर गरिरहेका छन्। 

यस्तै सिगास गाउँपालिका ९ का कृष्णसिंह धामी पनि आफ्नी श्रीमतिको किरिया भारतीय क्‍वारेन्टाइमै बसेर गरिरहेका छन्। 

स्वदेशकै क्‍वारेन्टाइनमा किरिया

बैतडीका एक जना क्‍वारेन्टाइनमै किरियामा बसेका छन्। मेलौली नगरपालिका ७ पच्कोराका रामसिंह रावत आफ्ना बुवाको किरिया क्‍वारेन्टाइनमा बसेका हुन्। 
भारतको मुम्बईमा काम गर्दै आएका रावत जेठ ४ गतेदेखि मणिलेक मावि मेलौली क्‍वारेन्टाइनमा बसिरहेका छन्। 

रावतका बुवा प्रतापसिंह बिहीबार बिहान निधन भएका थिए। केही दिनअघि भारतको पलियाबाट उद्धार गरी मेलौली पुगेका रावतले भने आफ्नो बुवाको मुख हेर्ने धोको अपूरै रहेको बताए। 

भारतबाट उद्धार गरी ल्याइएका सबैलाई दुई हप्तापछि आरडिटी गरेर मात्रै घर पठाउने तयारी भएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। 

यद्यपि क्‍वारेन्टाइनमै किरिया बसेका रावतलाई भने घर पठाउने वा क्‍वारेन्टाइनमा राखेर किरिया क्रम गर्न दिने विषयमा छलफल भइरहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.