|

काठमाडौं : दार्चुलाको घाँटीबगर क्षेत्रमा बाटो निर्माणका लागि नेपाली सेना पुगेको छ। नेपाल सरकारको गत वैशाख १४ गतेको मन्त्रिपरिषदको निर्णयबमोजिम महाकाली करिडोर अन्तर्गतको दार्चुला टिंकर सडक योजना बनाउन सेना त्यहाँ पुगेको हो। 

दार्चुला टिंकर सडक योजनाअन्तर्गत उत्तरतर्फको ८७ किलोमिटर सडक खण्ड सेनाले बनाउने जिम्मा पाएको छ। अहिले तत्कालै भने सेनाले दार्चुलाको व्यास गाउँपालिका २ को घाँटीबगर इलाकामा ४५० मिटर बाटो निर्माण गर्नेछ। दुई मिटर चौडाइको उक्त बाटो निर्माण भएपछि त्यहाँका स्थानीयहरू आफ्नो घर जान भारत हुँदै जानुपर्ने बाध्यताबाट मुक्त हुने सेनाले जनाएको छ। 

तत्कालै ४५० मिटर बाटो निर्माणको लागि बिहीबार मात्रै नेपाली सेनाको टोली दार्चुलाको थी भन्ने स्थानमा सेक्सन प्लस फौज पुगेको हो। आजबाट निर्माण सामाग्रीसहितको सेनाको टोली काममा लाग्नेछ। उक्त बाटो निर्माण भएपछि छाङरु र टिंकरका १८२ घरका १२ सय परिवार सदरमुकाम आउजाउ गर्न भारतीय भूमि हुँदै आउजाउ गर्न पर्नेछैन।

‘चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका १ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारका १२ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलंगा आवतजावत गर्नको लागि व्यास २ को मौरी भीरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरो गएकोले आवतजावत गर्न समस्या भएको छ,’ सेनाले विज्ञप्तिमा भनेको छ, ‘स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेकाो बाटो प्रयोग गर्दै आइरहेका छन्।’  सेनाले अबिलम्ब उक्त बाटो मर्मत गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.