दुई पटक आरडिटी गर्दा पनि देखिएको थिएन कोरोना

|

बैतडी : बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो।

थ्रोट स्बाव संकलन गरी सेती प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमख डाक्टर वशन्तराज जोशीले जानकारी दिए।

चैत ६  भारतको दिल्लीबाट आएका ती युवक कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका हुन्।  शिवनाथ गाउँपालिका ४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो। उक्त प्रकरण उनकी बहिनी पनि हिरासतमा रहे पनि उनको भने रिपोर्ट नेगेटिभ आएको छ।  

भारतबाट आएका हुनाले ती युवकको यसअघि २ पटक आरडिटी गरिएको थियो। जसमा नेगेटिभ रिपोर्ट आएको थियो। तर पिसिआर गर्दा पोजेटिभ आएको छ। 
ती युवकलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। 

जिल्ला प्रहरी कार्यालय सिल

युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ। संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक्ट ट्रेसिङको कामसमेत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

‘थुनुवा सम्पर्कमा रहेका प्रहरीको कोरोना परीक्षण गछौं,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेको धेरै जोखिम भएका र कम भएका छुट्याएर परीक्षण थाल्छौं।’

जिल्लामा कोरोना त्रास फैलिएको छ। भारतबाट फर्केका दुई हजार जतिको आरडीटी गरिएको छ भने ६ हजार जतिको कुनै परीक्षण भएको छैन। भारतबाट फर्केका नागरिकहरुको कोरोना परीक्षण नहुँदा संक्रमणको जोखिम पनि बढ्दै गएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.