|

काठमाडौं : सहिद स्मारक ’ए’ डिभिजन लिग सकिएको करिब ३ महिनापछि टेक्निकल रिपोर्ट अर्थात् प्राविधिक प्रतिवेदन सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई प्रतिवेदन बुझाएकाे हाे । 

गएको फागुनमा सकिएको लिगको गतिविधि समेटिएको प्रतिवेदन एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले हस्तान्तरण गरेपछि राखेप सदस्यसचिव रमेश सिलवालले सार्वजनिक गरेका हुन्। प्रतिवेदनमा लिग च्याम्पिनयको नाम, सहभागी क्लबको प्रोफाइल, लिगमा भएका गतिविधि, खेलाडीको नामावलीसहित विवरण, म्यान अफ दी म्याच लगायत जानकारी गराइएको छ ।

सहिद स्मारक ए डिभिजन लिगको ४३ औं संस्करण गत मंसिर २८ गतेदेखि सुरु भएको थियो। लिगमा मच्छिन्द्र, आर्मी, ब्रिगेड ब्वाइज, च्यासल युथ, एपिएफ, पुलिस, एनआरटी, फ्रेन्ड्स, मनाङ मस्र्याङ्दी, जाउलाखेल, थ्रिस्टार, संकटा, सरस्वती र हिमालयन शेर्पा सहभागी थिए।

फागुन ३ गते भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्बलाई १—० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको थियो ।

२०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मच्छिन्द्र क्लबले लिगमा सबैभन्दा धेरै २५ गोल गर्दा आर्मीले २१, मनाङले २०, थ्रिस्टारले १८, संकटा क्लबले १७, पुलिस र हिमालयन शेर्पाले समान १५—१५ गोल गरेका थिए । ब्रिगेडले मात्र ५ गोल गर्न सकेको थियो । प्रतियोगिता अवधिभर पहिलो हाफमा ८८ र दोस्रो हाफमा १ सय २२ गरी कुल २ सय १० गोल भएका थिए ।

प्राविधिक प्रतिवेदनमा सहिद स्मारक ए डिभिजन लिगको ४३ औं संस्करणसम्म आइपुग्दाका विजेता क्लबहरुको नाम पनि उल्लेख गरिएको छ । मनाङले सबैभन्दा धेरै ८ पटक ए डिभिजन लिगको उपाधि चुमेको छ । 

एन्फाको प्राविधिक रिपोर्ट यो लिंकमा हेर्न सकिन्छ ।
https://the-anfa.com/downloads/ANFA-technical-report.pdf

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.