|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्न भन्दै सेवन गरिरहेको मलेरियाविरुद्धको औषधीबाट खाएका बिरामीले धमाधम ज्यान गुमाइरहेको एक अनुसन्धानले देखाएको छ। 

ट्रम्पले मलेरियाविरुद्धको हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरेर कोरोना परीक्षण गर्दा आफूमा संक्रमण नदेखिएको भन्दै यो औषधीबाट सकारात्मक फाइदा हुने दावी गरेका थिए। त्यसपछि अमेरिकाका हजारौं संक्रमितहरुलाई मलेरियाविरुद्धको यो औषधी खुवाइएको थियो।

तर, विज्ञान शोध पत्रिका लेसेन्टले गरेको अध्ययनअनुसार जहाँ कोरोना संक्रमितलाई मलेरियाविरुद्धको यो औषधी दिइएको छ, त्यहाँ बिरामीको मृत्यु हुने खतरा अधिक छ।

लेसेन्टले ९६ हजार कोरोना संक्रमितमा यो औषधीको प्रभावकारिताबारे अध्ययन गरेको थियो। यी मध्ये १५ हजार संक्रमितलाई हाइड्रोक्सिक्लोरक्विन दिइएको थियो। बिरामीहरुलाई एन्टिबायोटिकसहित या सीधै यो औषधी दिएको पाइएको छ। 

तर यो औषधी खान दिइएका संक्रमितको मृत्युदर नखानेहरुको भन्दा निकै धेरै देखिएको छ। हाइड्रोक्सिक्लोरक्विन खुवाइएका बिरामीहरुमा हृदयघातको समस्या देखिएको छ। 

हाइड्रोक्सिक्लोरक्विन खुवाइएका हरेक १०० संक्रमितमध्ये १८ जनाको ज्यान गएको छ। यस्तै क्लोरोक्विन दिइएकामध्ये १६.४ प्रतिशतको ज्यान गएको छ। तर यो औषधी नखुवाइएका संक्रमितहरुको मृत्युदर नौ प्रतिशतभन्दा कम छ। चिकित्सकीय परीक्षण नै नगरी हाइड्रोक्सिक्लोरक्विन खुवाउनु निकै खतरनाक रहेको अध्ययनले देखाएको छ। 

मलेरियाविरुद्धको औषधीले कोरोना संक्रमितलाई कुनै फाइदा नभएको देखिएको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पले यो औषधी खाँदै गर्दा चिकित्सकहरुले यसबाट हृदयघात हुनसक्ने चेतावनी दिएका थिए। तर चिकित्सकीय अध्ययन र चेतावनीलाई उपेक्षा गर्दै ट्रम्पले यो औषधी प्रयोगमा ल्याउन दबाब दिइरहेका छन्‌। 

हाइड्रोक्सिक्लोरक्विन मलेरिया र आथ्राइटिसका केही मामिलामा लाभकारी औषधी हो। तर कोरोना संक्रमितको उपचारमा यो औषधी प्रयोग गर्न कुनै मेडिकल ट्रायल भएको छैन भने चिकित्सकहरुले पनि सिफारिस गरेका छैनन्। 

यो औषधी खुवाउँदा संक्रमितहरूको ज्यान जाने खतरा अत्यधिक रहेको चिकित्सकहरुले बताएका छन्। ट्रम्पले कोरोना नलाग्ने भन्दै यतिखेर मलेरिया निरोधक हाइड्रोक्सिक्लोरक्विन नामक औषधी सेवन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.