पाँच सय १९ जनाको रिपोर्ट आउन बाँकी, पाँच हजार ८ सय क्‍वारेन्टाइनमा

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका २४ हजार ८ सय बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट २४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण गरिएको हो। 

शनिबारसम्म पिसिआर विधिबाट ४ हजार १ सय ९६ जनाको र २० हजार ६ सय १० जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। पाँच सय १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। 

पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म यहाँका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएकामध्ये पाँच जना निको भएर घर गएका छन् भने ९ जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन्।

कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्। हालसम्म आरडिटी गरिएकामध्ये ५६ जनामा पोजेटिभ देखिएको छ। जसमा ३७ जनाको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार १९ जनाको पिसिआर परीक्षणको क्रममा रहेको छ।

दुई दिनमा थपिए ९ संक्रमित

सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार ९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजेटिभ देखाएका हो। 

शनिबार बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको छ। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो। शनिबार थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आइसोलेसनमा राखिएको छ।

शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्‍वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ।
 
कोरोना शंकास्पद १ सय ७२ बिरामी डिस्चार्ज 

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ७२ जना डिस्चार्ज भएका छन्। प्रदेशभरका १५ वटा अस्पतालबाट अहिलेसम्म एक सय ७२ बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

सेती प्रादेशिक अस्पतालबाट हालसम्म ५७ जना, डडेल्धुरा अस्पतालबाट २१, बयलपाटा अस्पतालबाट १८ र जिल्ला अस्पताल अछामबाट १४ जना, जिल्ला अस्पताल बझाङबाट १२ तथा महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटी र जिल्ला अस्पताल बाजुराबाट ७–७ जना, जिल्ला अस्पताल बैतडी र टीकापुर अस्पतालबाटबाट ६–६ र गोकुलेश्वर अस्पतालबाट ५, भजनी स्वास्थ्य केन्द्राबाट ४, चौमला स्वास्थ्य केन्द्रबाट ३, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्। उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसमा राखिएको तर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ। 

संक्रमितसहित ३४ जना आइसोलेसनमा 

निर्देशनालयका अनुसार कोरोना संक्रमित र शंकास्पद बिरामी गरी शनिबारसम्म ३४ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। सेती प्रादेशिक अस्पतालमा २२, जिल्ला अस्पताल बैतडीमा ४ जना, टीकापुर अस्पतालमा ३, बयलपाटा अस्पताल अछाममा २ जना, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल अछाम र जिल्ला अस्पताल डोटीमा एक–एक जनालाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ। 

पाँच हजार ८ सय १६ जना क्‍वारेन्टाइनमा

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका क्‍वारेन्टाइनमा पाँच हजार ८ सय १६ जना बसिरहेका छन्। जसमा पाँच हजार २ सय ५१ पुरुष छन् भने पाँच सय ६५ महिला छन्। 

सुदूरपश्चिममा रहेका स्वास्थ्य कार्यालय र यहाँका पालिकाहरूमा ३ हजार ७८ आरडिटी किट मौज्दात रहेको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिममा एक हजार ६ सय ४९ भिटिएम मौज्दात छन्। सुदूरपश्चिममा एक हजार ४७ भिटिएम किट मौज्दात छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.