तीन दिनदेखि स्वाब संकलन ठप्प, सरकारले नपठाउँदा गाउँपालिकाले खरिद गर्‍याे ५ सय किट

|

भद्रपुर : जिल्लामै सबैभन्दा बढी ३३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको दक्षिणी झापाको कचनकवलमा थप स्वाब संकलन कार्य तीन दिनदेखि बन्द छ।

स्वाब संकलन गर्ने भिटिएम किट जिल्लामै अभाव भएपछि कचनकवलका क्‍वारेन्टाइनमा बसेका १३३ जनाको पिसिआर परीक्षणमा ढिलाइ हो। जिल्लामै भिटिएम किट अभाव भएपछि भारतबाट फर्किएका गाउँवासीको स्वाब परीक्षणका लागि गाउँपालिकाले ५ सय भिटिएम किट खरिद गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए।

‘जिल्लामै भिटिएम किट अभाव भएपछि क्‍वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन कार्यले तीव्रता पाउन सकेन’, अध्यक्ष आलमले भने, जिल्लासँग माग्दा छैन भन्छन्, 'सरकारले कहिले किट पठाउँछ पर्खिएर बस्नुभन्दा पनि गाउँपालिका आफैंले एक हजार किट खरिद गर्ने निर्णय गर्यो। तर, पाँच सय किट मात्र खरिद गर्न पाइयो।’

कोरोना संक्रमित बढेको झापामै प्रदेश तथा संघीय सरकारले भिटिएम किट पठाउन नसक्दा यसले थप समस्या पारेको बताउँदै उनले भने, ‘सरकारले तत्काल भिटिएम किट जिल्लाका स्थानीय तहहरूमा पठाइदिनुपर्यो।’

गाउँपालिकाले आफ्नै बजेटबाट किट खरिद गरेकोले आइतबारदेखि थप स्वाब संकलन सुरु गरिने उनले बताए। उनका अनुसार केचनाको महेन्द्र रत्न माविको क्‍वारेन्टाइनमा ९८ र पाठामारीको जानकी आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा ३५ गरी १३३ जनाको स्वाब संकलन गरिन्छ।

उनीहरू सबै भारतको मुम्बई, दिल्लीलगायत संक्रमति राज्यबाट आएका हुन्। अहिलेसम्म क्‍वारेन्टाइनमा बसेका १०५ जनाको स्वाब संकलन गर्नुका साथै पिसिआर रिपोर्ट पनि आइसकेको छ। त्यसमध्ये ३३ जनाको पोजेटिभ र अरू सबैको रिपोर्ट नेगेटिभ आएको छ।

‘भारतबाट गाउँका युवाहरू फर्किने क्रममा छन्, 'उनले भने, ‘भारतको तामिलनाडुबाट ७० जनाको टोली गाउँ आइरहेको जानकारी प्राप्त भएको छ, त्यसका लागि थप क्‍वारेन्टाइन बनाउने काम भइसकेको छ।’  

आतंकित नहुन गाउँपालिकाको आग्रह

भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका कचनकवलबासी धमाधम गाउँ फर्किरहेका छन्। कोरोना त्रासपछि भारतमा रेललगायत यातायात सवारीसाधन खुलेपछि उनीहरू स्वदेश फर्किन थालेका हुन्। भारतमा अलपत्र परेपछि उनीहरू समूह बनाएर घर आउन थालेका छन्।

भारतबाट गाउँ फर्किएका उनीहरूलाई गाउँपालिकासहित स्थानीय प्रहरी, प्रशासनले नियन्त्रण लिएर सोझै क्‍वारेन्टाइनमा लगेर राख्न थालेका छन्। जसले गर्दा समाजमा कोरोना फैलिन पाएन।

गाउँपालिकामा शनिबारसम्म २ सय ३८ जना आइसकेका छन्। उनीहरूलाई गाउँपालिकाको विभिन्न क्‍वारेन्टाइनमा लगेर राखेकाे गाउँपालिकाका अध्यक्ष आलमले जानकारी दिए।

‘भारतबाट आएका गाउँवासीमा कोरोना भाइरस देखिएपछि अहिले त्राससँगै आतंक छाएको होला,’ अध्यक्ष आलम भन्छन्, ‘तर गाउँवासीलाई त्राससँगै डराउनुपर्ने अवस्था छैन। भारतबाट अहिलेसम्म फर्किएका सबैलाई क्‍वारेन्टाइनमा लगेर सुरक्षित रूपमा राखेका छौँ। उनीहरूलाई आफन्तसँगै छरछिमेकमा घुलमिल हुन दिएका छैनौँ। त्यसैले आतङ्कित बन्ने काम छैन। यस्तो बेलामा गाउँवासीले धैर्यतासँगै स्थानीय सरकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने हुन्छ।’

उनले भने, ‘भारतबाट आउनेमाथि निगरानी बढाएका छौं, आउने जति कोही पनि गाउँ प्रवेश गर्न पाउने छैन।’ कोरोना संक्रमित देखा परेसँगै बुधबारदेखि नै ६ दिनका लागि गाउँपालिका सिल गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.