|

बेइजिङ : चीनले रेलमार्फत काठमाडौंमा सामान पठाउन थालेको छ। चीनको कान्सु प्रान्तको सदरमुकाम लान्झौबाट शनिबार नेपालका लागि कार्गो रेल छुटेको हो। शुक्रवार उक्त रेल सामान बोकेर तिब्बतको सिगात्सेसम्म आउनेछ। त्यहाँबाट सडकमार्ग हुँदै मालबाहक ट्रकमा आवश्यक सामान काठमाडौं ल्याइनेछ।

संयोगवश नेपालको दक्षिणी छिमेकी भारतसँग विवाद चर्किरहेका बेला उत्तरी छिमेकीले कार्गोरेल नियमित संचालनमा ल्याएएको हो। यसअघि भारतको कलकत्ताबाट समुद्री मार्ग हुँदै सामान ल्याउँदा नेपाललाई ३५ दिन लाग्ने गरेको थियो। तर अब सातदेखि नौ दिनमै उक्त सामान काठमाडौं आइपुग्नेछ।

भारतले सन् २०१५ मा नेपालमा नाकाबन्दी गर्दा चीनसँगका नाका खोल्ने निर्णय गरिएको थियो । नेपालले अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको एकल निर्भरता हटाउन चीनका समुद्री र सुख्खा बन्दरगाह हुँदै अन्य मुलुकसँग व्यापार गर्ने सम्झौता गरेको थियो। नेपालले अघिल्लो वर्ष चीनसँग हिमालयपार व्यापार तथा पारवहन सम्झौता गरिसकेको छ।

भिडियो

यही क्रममा चीनले लान्झौबाट दक्षिण एसिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेल पुनः सुरू गरेको हो। चिनियाँ रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सिआन पश्‍चिम रेलवे स्टेसनले काठमाडौं पुग्‍ने नयाँ गन्तव्य स्टेसन सुरु गरेको हो। 

इन्टरमोडल प्रणालीमा चल्ने यो कार्गो रेलबाट परम्परागत अटोमोबाइल र समुद्री ढुवानीको मोडलको तुलनामा समय पनि थोरै लाग्नेछ। यसबाट प्रशासनिक खर्च पनि कम हुने चिनियाँ अधिकारीहरुले बताएका छन्।  १३ लाख डलर बराबरका ती सामाग्री ८ दिनमा  काठमाडौं पुग्‍ने बताइएको छ।

यसअघि शुक्रबार सियानबाट पनि काठमाडौंका लागि मालवाहक रेल छुटेको थियो। यहाँबाट सातामा एक पटक काठमाडौंका लागि कार्गो रेल पठाउने योजना चिनियाँ अधिकारीले बनाएका छन्। 

लान्झौबाट शिगात्सेसम्म २४ सय ३१ किलोमिटर लामो रेल यात्रा हुनेछ। त्यहाँबाट ५६४ किलोमिटरको सडक छिचोल्दै केरूङ पुग्नेछ। केरुङबाट १६० किलोमिटर सडक यात्रापछि सामान काठमाडौं आइपुग्‍नेछ।

काठमाडौं सामान पठाउन थालेको यो स्थान बेल्ट एण्ड रोड र अन्तर्राष्ट्रिय व्यापारको एक केन्द्र हो। चीनका लागि यो केन्द्र दक्षिण एसियामा बजार बढाउन राम्रो विकल्प भएको छ।

नेपाल र चीनबीच गत वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएको थियो। त्यसबेला परीक्षणका लागि लान्झोउ अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहबाट पहिलोपटक मालबाहक रेल नेपालका लागि छुटेको थियो।

नेपालले चीनसँग गरेको सम्झौता कार्यान्वयन हुन थालेको हो। लान्झोउ सुख्खा बन्दरगाह चीनका दश ठूला व्यापार केन्द्रमध्ये एक हो। सन् २०१६ मे मा नेपालका लागि पहिलो कार्गो रेल छुटेको थियो। चीनले अहिले त्यसको गुणस्तर निरन्तर सुधार गरेको जनाएको छ । दक्षिण एसियामा कार्गो रेलमार्फत चीनले करिब ४ बिलियन युआन बरावरको व्यापार गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.