सरकारी कर्मचारीदेखि हत्या आरोपीसम्म संक्रमित

|

डडेल्धुरा : सुदूरपश्‍चिम प्रदेशमा पछिल्ला तीन दिनमा १० जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार पाँच, शनिबार चार र आइतबार एक जना गरी १० जनमा कोरोना संक्रमण देखिएको हो।

गौरीफन्टामा २५ सयको भीडमा रहेका यहाँका पाँच जनामा कोरोना पुष्टि भएको छ। जेठ ८ गते दुई हजार चार सय ९८ जनासंगै गौरीफन्टा नाकाबाट उद्धार गरिएका पाँच जनामा कोरोना पुष्टि भएको हो। 

शनिबार चार जना र आइतबार एक गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचाना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

‘गौरीफन्टा नाकाबाट उद्धारिएका मध्येका एकजनामा आज कोरोना पुष्टि भएको छ। उहाँ ८ गतेदेखि यहाँ उपचाररत हुनुहुन्थ्यो।’ उनले भने, ‘आज उहाँको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।’ 

सूचना अधिकारी श्रेष्ठका अनुसार आइतबार धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी-पिसीआर मेसिनबाट परीक्षण गर्दा अछामको मेल्लेख गाउँपालिका-४ का ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

योसँगै प्रदेशभर संक्रमितको संख्या १५ पुगेको छ। नयाँ संक्रमित पुरुष जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। 

सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको थियो। उनको पिसिआर जाँच्दा पनि पोजेटिभ रिपोर्ट आएको हो। उनको स्वास्थ्य अवस्था समान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए। 

यसअघि शुक्रबार र शनिबार सुदूरपश्‍चिमका ९ जनामा कोरोना पुष्टि भएको थियो। धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजेटिभ देखाएका हो। शनिबार मात्रै बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको थियो। 

शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो।  

भारतको मुम्बइबाट आएका उनीहरूको ८ जेठमा गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो। उनीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो। 

उनीहरुसंगै आएका अधिकासंको अहिलेसम्म परीक्षण हुन सकेको छैन। सेती प्रादेशिक अस्पतालमा अहिले पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका सूचाना अधिकारी श्रेष्ठले जानकारी दिए।

कैलालीका संक्रमितको ट्राभल हिस्ट्री

शुक्रबार कैलालीको जानकी गाउँपालिकास्थित सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका-१० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। 

कैलालीको जानकी गाउँपालिका १९ वर्षीय युवक सुनसरीको इटहरीबाट आएका थिए। जानकी गाउँपालिकाकै २६ वर्षीया पुरुष भारतको महाराष्ट्रबाट आएका थिए भने २३ वर्षीय युवक बाँकेको नेपालगञ्जबाट आएका जानकी गाउँपालिककामा आएका थिए। उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। 

हिरासतमा पनि कोरोना

बैतडीको शिवनाथ गाउँपालिका-१ का कोरोना संक्रमण देखिएका २२ वर्षीय युवक २ महिना अघि भारतबाट आएका थिए। ती युवक कर्तव्य ज्यान मुद्दामा गएको वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए। बैतडी अस्पतालमा उपचार भइरहेको छ।

डडेल्धुराका युवक कर्मचारी

डडेल्धुराको परशुराम नगरपालिका-१० का २८ वर्षीय ती युवकमा शुक्रबार कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो। उनी डडेल्धुराको सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा परशुराम नगरपालिका वडा नं. १० का स्थायी वासिन्दा हुन्। 

वैशाख १५ गते घर पुगेर २७ गते फर्किएर २८ गते कार्यालयमा हाजिर भएको र २८ गतेदेखि जेठ ५ गतेसम्म कार्यालयमा काम गरेको पाइएको छ। 

योजनाको सम्झौता तथा अन्य काममा सहभागी भएको र जेठ ६ गते ज्वरो आएपछि डडेल्धुरा अस्पताल गएर चेकजाँच गराइएको जनाइएको छ। 

अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको र अस्पतालले औषधि दिएर सोही दिन अस्पतालले कोरोनाको आशंकामा उनको थ्रोटस्वाब संकलन गरेको थियो।

औषधि लिएर कार्यालयको निवासमा फर्किएको र शुक्रबारसम्म कार्यालय भित्रका काम गरेको उनी बताउँछन्। शुक्रबार धनगढी प्रयोगशालामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको देखिएको थियो।

कोरोना नहोला भन्ने सोचेर कार्यालयको निवासमा बसेका थिए। कोरोना ‘पोजेटिभ’ छ भन्दा अहिलेसम्म पनि उनलाई विश्वास लागेको छैन। आफ्नो पिसिआर चेकजाँच काठमाडौंमा गर्नुपर्ने उनको माग छ।

अहिले डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। सुदूरपश्‍चिमका नयाँ थपिएका १० कोरोना संक्रमितको अवस्था स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।

पाँचजनाले जिते

सुदूरपश्‍चिमका पाँच जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन्। कोभिड-१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्।

सुदूरपश्‍चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप-महानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। 

धनगढी उप-महानगरपालिका ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६५ वर्षीय वृद्धामा पनि कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.