|

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन्।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला पर्व आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने बताएका छन्।

उपराष्ट्रपति पुनले यस महान् पर्वका अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको सन्देशमा उल्लेख गरेका छन्।

नेपालमा कोरोना भाइरसबाट तीनजनासहित विश्वका विभिन्न देशमा जीवन गुमाएका धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उपराष्ट्रपति पुनले देशमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र भएकाले  एक जुट भएर यसविरुद्ध लड्न र विजय प्राप्त गर्नाको विकल्प नभएको पनि सन्देशमा जनाएका छन्। कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बन्दै जान विश्वास व्यक्त गर्दै उनले सरकारको प्रयासमा पूर्ण साथ दिन सबैलाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.