वर्षामा नेपालतिरको भूभाग डुब्ने खतरा

|

रौतहट : नेपाल सरकारले लिपुलेकसहित समेटेर नेपालको नक्सा जारी गरेसँगै रौतहटको सीमा क्षेत्रमा पनि सीमा मिचिएको भन्दै नेपालतिरका स्थानीय विरोधमा उत्रिएका छन्। 

सीमावर्ती इशनाथ नगरपालिका १ स्थित बन्जरहा दशगजा क्षेत्रमा भारतले सीमा मिचेर अग्लो बाँध बाँधेपछि स्थानीय आक्रोशित भएका हुन्। हिजो (आइतबार) स्थानीयको अवरोधपछि भारतीय पक्षले हाललाई निर्माण कार्य रोकेको छ। स्थानिय र भारतीय पक्षको वादविवादका कारण सो क्षेत्र केहीबेर तनावग्रस्तसमेत बनेको इशनाथ १ का वडाध्यक्ष बिगु साहले जानकारी दिए।

साहकै नेतृत्वमा करिब १ हजारभन्दा बढी स्थानीय भारतीय पक्षले निर्माण गरेको बाँधमा पुगेर विरोध जनाएका थिए। सो क्रममा रोक्न गएका स्थानीय र भारतीय पक्ष बीचमा ठूलै वादविवाद भएको साहले बताए। 

शनिबार साँझ नेपाल र भारतीय पक्ष बीच निर्माण कार्य रोक्ने सहमति भए पनि भारतले आइतबार बिहानैदेखि पुनः बाँध निर्माण थालेको थियो। त्यसपछि नेपालतर्फबाट स्थानीयले भेला भएर सो कार्यको विरोध जनाएका थिए। 

भारतीय पक्षले दशगजाभित्रै २० फिटभन्दा अग्लो बाँध बाँधेको साह बताउँछन्। करिब १० वर्षअघि बनाउन सुरु गरेको सो बाँध भारतीय पक्षले प्रत्येक वर्ष निरन्तर बढाउँदै आइरहेको छ।

भारतले सो बाँधको छेउमा बोरामा बालुवा हालेर निकै बलियोसँग बनाइरहेको छ। उसले बाँधमा साविकभन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले समेत नभत्कने गरी बनाउँदै आइरहेको छ। 

भारतीय पक्षले अटेर गरेर आफूहरुलाई डुबाउन लागेको भन्दै स्थानीय प्रतिकारमा उत्रिएका हुन्। सोही बाँधका कारण पानीले निकास नपाउँदा बर्सेनि नेपालतर्फका दर्जनौं गाउँ डुबानमा पर्ने गरेका छन्।

भारतीय पक्षले जसरी पनि नेपालीलाई पेलेरै भए पनि बाँध निर्माण गर्न लागिपरेको स्थानीयको गुनासो छ। भारतले बनाएको सो बाँधका कारण नगरपालिकाका १, २, ३ र ४ नम्बर वडा यस वर्ष डुबानमा पर्ने देखिएको छ। 

भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६/५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाइरहेको छ। भारतले बनाइरहेको सो बाँध करिब तीन किलोमिटर भन्दा लामो, २० फिटभन्दा अग्लो र १० मिटर भन्दा बढी चौडाइको छ। नेपालतर्फ पानी निकासका लागि एउटा पनि ढोका राखिएको छैन। यसले गर्दा वर्षा याममा सो क्षेत्र पूर्ण रुपमा डुबान पर्ने निश्चित छ। 

सो बाँध निमार्ण क्रममा भारतले दशगजा क्षेत्र पनि मिचेको स्थानीयको आरोप छ। अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीत दशगजा क्षेत्रमा यस्तो संरचना बनिरहँदा पनि सरोकारवाला निकायले खासै चासो नदिएको स्थानीयको गुनासो छ। 

दशगजा क्षेत्रको स्थलगत नापजाच हुँदै

यता नापी विभागसहित टोलीले सोमबार दिउँसो सो क्षेत्रको नापजाँच गर्ने भएको छ। भारतले एकतर्फी बाँधेको बाँध क्षेत्रको जमिनको अवस्थाबारे जाँच गर्न नापी विभागका प्रविधिकसहतिको टोलीले सो क्षेत्रको नापजाँच गर्ने  रौतहटका सिडिओ वासुदेव घिमिरेले जनाए। भारतले दशगजा क्षेत्रमा बाँध बाँधेको पाइए उक्त कार्य रोक्का गरिने उनले बताए।

सोमबार प्रजिअसहित नापीटोलीका पदाधिकारी, सुरक्षा प्रमुखहरु सो क्षेत्रमा स्थलगत अनुगमनका लागि जाने तयारीमा रहेका घिमिरे जनाए। सो क्षेत्रका दुवै पक्षका जिल्लास्तरका अधिकारीबीच पटक पटक बाँध निमार्ण रोक्ने मौखिक सहमति भएको थियो। तर भारतले सम्झौतालाई लत्याउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.