७० बढी मलामीलाई घरमै रोकियो, उमजन गाउँ सिल

|

बारा : बाराको करैयामाई गाउँपालिका ७ उम्जनका ७० वर्षीय वृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै गाउँ सिल गरिएको छ। कोरोना पुष्टि भएका बृद्धको नौ दिन अघि वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो। उनको अन्त्येष्टि भइसकेको छ।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै सोमबार दिउँसोबाट गाँउ सिल गरिएको हो।

संक्रमण फैलिन नपाओस् भनेर मृतकको गाउँ वरिपरि तारबार गरी सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दाहसंस्कारमा थिए ७०बढी

कोरोना संक्रमित वृद्धको धार्मिक परम्पराअनुसार स्थानीय गाउँ नजिकैको खोला अन्त्येष्टि गरिएको थियो। दाहसंस्कारमा ७० भन्दा बढी मलामी सहभागी भएको खुल्न आएको छ।

दाहसंस्कारमा सहभागी मलामी, मृतकका परिवार लगायतका गाउँलेलाई घरमै बस्न निर्देशन दिइएको प्रवक्ता मिश्रले जानकारी दिए। प्रहरीले कसैलाई बाहिर आउजाउ गर्न दिएको छैन। उनका अनुसार मृतकको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको छ।

अस्पतालको लापरबाहीले दु:ख भोग्नु परिरहेको छ

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते वीरगञ्जको नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा भर्ना गराएका थिए। वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

नेसनल मेडिकल कलेज वीरगन्जमा जेठ २ गते उपचारका लागि भर्ना गरिएकै दिन वृद्धको स्वाब परीक्षणका लागि लगिएको थियो। आईसियुमा उपचाररत उनको जेठ ४ गते मृत्यु भयो। त्यही दिन अस्पतालले मृतकलाई परिवारको जिम्मा लगाएपछि एम्बुलेन्सबाट लगेर दाहसंस्कार गरिएको थियो।

ज्वरोले सिकिस्त भएपछि परिवारले उनलाई कोल्हवी बजारबाट एम्बुलेन्समार्फत जेठ २ गते नेसनल मेडिकल कलेज लगेका थिए। ‘चिकित्सकले कोरोना जाँचको विषयमा केही भनेनन्,’ मृतकका छोराले भने, ‘अस्पतालले दाहिने ‘लङ्ग्स डिस्ट्रोए’ (फोक्सोमा खराबी) भएर निमोनिया भएको भन्दै उपचार गर्न थाले, उपचारकै क्रममा बुवाको मृत्यु भएपछि हामीलाई जिम्‍मा लगाए।’

स्वाब लिए/नलिएको पनि आफूहरुलाई जानकारी नदिइएको छोराको भनाइ छ। अस्पतालको लापरबाहीले परिवारले दुःख भोग्नु परिरहेको उनले बताए। ‘बुवा गाउँकै स्वास्थ्यचौकीबाट धेरै वर्षपहिले रिटायर्ड स्वास्थ्यकर्मी हुनुहुन्थ्यो, अहिले पनि हट्टाकट्टा नै हुनुहुन्थ्यो,’ उनले भने, ‘घरको भर्‍याङबाट लड्दा घुँडामा चोट लाग्यो, त्यसपछि ज्वरो र खोकी आएको थियो।’

यो पनि पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.