|

कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन वार्ड निर्माण कार्यमा विरोध भएको छ। नगरपालिकाले निर्णय गरेको ठाउँमा आइशोलेसन वार्ड तयार नगरी नयाँ ठाउँमा तयार पार्न खोज्दा स्थानीयले अवरोध गरेका हुन्।

नगरपालिकाले वडा नं. ११ मा रहेको जहदी स्वास्थ्य चौकीको भवनमा निर्णाण गर्न खोज्दा स्थानीयले अवरोध गरेका थिए। आइतबार ७ वटा टोलबाट आएका प्रतिनिधिमूलक स्थानीयले उक्त अस्पतालमा ताला लगाएर आइशोलेसन बनाउन रोकेका हुन्। स्थानीय बसिर खाँले तौलिहवामा बनाउन निर्णय भएको आइशोलेसन नबनाएर जहदीमा आएर जवरजस्ती गर्न खोजे आन्दोलनमा जाने उद्घोष गरे।

स्थानीयको विरोधपछि रोकियो

नगरपालिकाले आज पनि ४ नम्बर वडामा रहेको सरिम क्लिनीकमा स्थापना गर्ने प्रयास गरेको थियो। सरिम क्लिनिक स्थानीय बस्तीबाट नजिक भएको भन्दै स्थानीयले रोकेका थिए। वरिपरिका स्थानीयले नाराबाजीसमेत गरेको सन्दीप पाण्डेले जनाएका थिए। आइसोलेशन सेन्टर सञ्‍चालन कार्य फेरि रोकियो।

आइसोलेशन सेन्टर निमार्णका लागि प्रदेश ५ का आन्तरीक मामिला मन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बैठक बसेको थियो। जेठ ४ गते तौलिहवा प्रशासनमा बसेको बैठकले जिल्लाका ५ स्थानमा आईसोलेशन सेन्टर निमार्ण गर्ने निर्णय गरेको थियो।

सदरमुकाम तौलिहवामा महिला विकास कार्यलयको भवन मायादेवी गाउँपालिका तैयाव अस्पताल र फुलिका स्वास्थ्य चौकी, विजयनगर गाउँपालिकाको आयुर्वेद अस्पताल र शिवराज नगरपालिकाको नलकुपको भवनमा निर्णय गरेको थियो। अहिलेसम्म विजयनगर गाउँपालिका र मायादेवी गाउँपालिकाले तैयाव अस्पतालमा मात्र आइसोलेसन सेन्टर सञ्‍चालनमा आएको छ।

निर्णय भएको कार्यालयमा सांसदको अफिस

आइसोलेसन सेन्टर बनाउन निर्णय भएको महिला विकास कार्यालयमा लुम्बिनी एकीकृत विकास संस्था बसेको छ। उक्त संस्था कांग्रेस सांसद अत्तहर कमालको हो। जसको अध्यक्ष पनि आफैँ हुन्।

नगरपालिकाले ३ वर्षका लागि मासिक ३० हजार भाडा लिने गरेको छ। सांसद अतहर कमालले हामीहरुलाई जानकारी नदिई निर्णय भएको बताए। नगरपालिकाले हामीलाई खबर गरेको पनि छैन। कोठा पनि कम छ। अस्पताल संचालन गर्ने अवस्था पनि छैन। राज्यलाई आवश्यक परे ठूलो कुरा नभएको कमालले बताए।

यता, नगरपालिका एक कार्यपालिका सदस्यले कार्यालय भाडामा दिँदा मिलेमतो भएको बताए।  सूचना निकालियो तर पत्रिका बीचमै गायव परियो। जिल्लामा केही कार्यालय भाडा तिरेर बसेका छन्। सरकारी भवन सरकारी कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने हो तर भाडामा दिइयो नाम नखुलाउने सर्तमा उनले बताए।

चलाउने जिम्मा प्रशासनकै

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी पोख्रेल नगरपालिकाले आइसोलेशन तयार गरेको बताउछन्। वडा नम्बर ११ जहदीको स्वास्थ्य चौकीमा आवश्यक पर्ने वेड पुर्‍याएको बताए। ‘हामीले निर्माण गरिसक्यौँ सञ्‍चालन गर्ने काम प्रशासनको हो उतै सोध्नुहोस्’ पोख्रेलले बताए।

निर्णय गरेको स्थानमा किन सञ्‍चालन भएन? भन्‍ने प्रश्नमा उनले त्यो जिम्मा मेयर सावको हुनाले उतै सोध्न आग्रह गरे। मेयर किरण शिंहलाई सम्पर्क गर्दा फोन लाग्न सकेन। यता, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आइसोलेशन सेन्टर ११ नम्वर वडाको स्वास्थ्य चौकीमा सञ्‍चालन हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.