नेकपाले बनायो छानबिन समिति

|

रुकुम : रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको दुर्घटनामा दुई युवाको ज्यान गएको छ। अन्य चार जना बेपत्ता भएका छन्। ज्यान गुमाउनेमा जाजरकोट भेरी नगरपालिका नवराज विक र चौरजहारी नगरपालिकाका टीकाराम सुनार छन्। अन्य चार बेपत्ताको खोजी कार्य जारी छ। 

यस्तो छ घटना विवरण ? 

जाजरकोट भेरी नगरपालिका-४ का नवराज विक रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी एक मल्ल थरकी किशोरीसँग प्रेममा थिए। विकले १९ जना साथीसहित केटी भगाउन खोजेपछि घटनाक्रमले विकसित रुप लिएको थियो। 

केटा पक्षले केटीले बोलाएपछि आफूहरु लिन आएको बताएका थिए। तर परिवार र गाउँलेले दलितलाई छोरी लिन नदिने भन्दै धपाएका मात्र नभई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएका बताइन्छ। 

उता केटी पक्षले भने लकडाउनको समयमा १९/२० जना आएर गाउँमा होहल्ला गरेका र गाउँलेहरुले सोधपुछ गर्दा भागदौड मच्चिएर घटना भएको दाबी गरेका छन्। जाजरकोट र रुकुम पश्चिमको सिमानाको रुपमा रहेको घटनास्थल नजिक भेरी नदी पर्छ। उनीहरु दुवैको शव भेरी नदीको किनारमा भेटिएको थियो। 

जातीय भेदभावकै कारण हत्या !

जिल्लास्थित दलित अधिकारकर्मीले उक्त घटना जातीय छुवाछुतकै कारण गराइएको दाबी गरेका छन्। दलित अधिकारकर्मी तथा संघसंस्थाले घटनाको भर्त्सना गर्दै हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन्। 

राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले घटनाबारे छानबिन गरी पीडितलाई न्याय दिन राष्ट्रिय दलित आयोग र राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध गरेका छन् । ‘मानव समुदायलाई नै कलंकित पार्ने यस्ता घटनाप्रति सदा चनाखो हुन सम्पूर्ण उत्पीडित समुदायदाई आह्वान गर्दछु,’ उनले भनेका छन्। 

त्यस्तै नेपाल दलित मुक्ति संगठनका सहइन्चार्ज समेत रहेका पूर्वमन्त्री दलजित श्रीपालीले पनि घटनामा नेपाल सरकार,  संसदीय समितिअन्तर्गत समाजिक न्याय तथा मानवअधिकार समिति, नेपाल राष्ट्रिय मानवअधिकार आयोग तुरुन्त घटनास्थल पुगी सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्। 

नेकपाद्वारा छानबिन समिति गठन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले एक प्रेस नोट जारी गर्दै उक्त घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अध्यक्ष गोपाल शर्माद्वारा हस्ताक्षर गरिएको प्रेस नोटमा घटनाको विषयमा बुझ्न र अनुसन्धानमा सहयोग गर्न ३ सदस्सीय समिति समेत गठन गरेको जनाएको छ। जसमा नेकपा प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजगत्वमा पुष्प बादी र भीमा थापा छन्। 

के भन्छ प्रहरी ?

उक्त घटनामा मृत्यु भएका दुई जनाको मृत्युबारे अनुसन्धानपछि मात्र थाहा हुने बताएको छ। ‘दुईमध्ये एकको शव घटनास्थलभन्दा सय मिटर तल र अर्कोको २० किलोमिटर तल भेरी नदी किनारमा फेला परेको हो’, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले भने, ‘दुवैको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ, रिपोर्टपछि मात्र विस्तृत थाहा हुन्छ।’ 

केटी पक्षमा ९ जनालाई पनि रुकुम प्रहरीले आवश्यक सोधपुछका लागि इलाका प्रहरी कार्यालय चौरजहारीमा बोलाइएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक नेतृत्वको एक टोली नै छानबिन र अनुसन्धानका लागि त्यहाँ पुगेको छ। 

केटी कक्षा १० मा पढ्दै छिन्। जाजरकोटकोटबाट केटी भगाउन आएको सन्दर्भमा केटीको उमेर पुगेको थियो या थिएन भन्ने प्रश्नमा प्रहरीले उक्त विषयमा पनि बुझ्ने काम भइरहेको बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.