|

दोहा : कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ।

परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा २०० जनालाई वितरण गरेको हो। उनीहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको गैरआवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एवं उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिए।

यस नवौं चरणमा सनैया स्ट्रिट नम्बर ५, १०, ११, १५, २३, ३८, लक्ता रयान, अम सलाल मोहम्मद, मैजार,अल्खोर, अल रयान, मदिना खलिफा, मार्खिया,न्यु सलता, नज्मा, अल खिसा, एन खालिद,मतार कदिम, वर्ल्ड अल घानिम, तरबार गेट, मुग्लिना, अल तुममा, अल साद, वाक्रा, दुहिल र मुराका राहत वितरण गरिएको छ।

कतारमा पीडित नेपाली कामदारहरु धेरै भए पनि अहिलेसम्म एक हजार ५१५ जनालाई राहत वितरण गरिएको संयोजक गुरुङले बताए। कोरोना संकटको कारणले कतारमा रहेका नेपालीहरुलाई खाद्यान्नसम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरिएको एनआरएनए महासचिव पदम गिरीले बताए। 

कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ। सोमबार मात्र एक हजार ७५१ नयाँ संक्रमित थपिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.