मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु

|

 हेटौंडा : बागमती प्रदेश सरकारको सिद्धान्त र प्राथमिकता सोमबार आएको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा अधिकांश विषयमा कृषि परेका छन्। विशेष गरी ग्रामीण विकास र कृषिलाई  उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारले आफ्नो सिद्धान्त र प्राथमिकता तयार पारेको छ।

मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु

बागमती प्रदेश सरकारले विशेष गरी विदेश गएर फर्केका युवालाई लक्षित गर्दै कृषि कर्मको लागि नारा अगाडि सारको छ। आर्थिक मामिला मन्त्री ढुंगेलले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा  “मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु” भन्ने नारा ल्याएको हो। 

यस्तै प्रदेश सरकारले यस अघिका आर्थिक वर्षमा दिँदै आएको कृषि अनुदान अब नदिने भएको सिद्धान्तमा परेको छ। प्रदेश सरकारको लगानीको रुपमा कृषिलाई सहयोग गर्ने नीति लिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संसदलाई जानकारी दिएका हुन्।

बैंक तथा वित्तिय संस्थालाई सहकार्यबाट युवालाई कृषिमा जोड्न आवश्यक पहल गरिने बताइएको छ। काठमाडौं वरिपरि पशुपालनलाई जोड दिने गरि आवश्यक बजेटको तयारी गरिएको मन्त्री ढुंगेलले संसदमा जानकारी दिए। यस्तै प्रदेश सरकारले विद्युत खपतलाई बढाउँदै रोजगारी मुलक सुचना र सञ्चारलाई प्राथमिकता दिएको बताएको छ।

सिद्धान्त र प्राथमिकताको पहिलो नम्बरमा प्रदेश सरकारले आफ्नो भौतिक निर्माणमा प्राथमिकता दिएको छ। असहज रुपमा बसिरहेको प्रदेश सभा भवन लगायत आवश्यक भौतिक निर्माणमा प्राथमिकता दिएको मन्त्री ढुंगेलले बताए।

दुईवटा अध्यादेश, प्रहरी ऐन टेबल

यस्तै सोमबार नै बसेको प्रदेश सभाको वैठकमा दुईवटा अध्यादेश पेश भएको छ भने  प्रहरी ऐन पनि प्रस्तुत(टेबल) भएको छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वातवरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेश गरेका हुन्।

त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न बनेको अध्यादेश पेश गरेका हुन्। यस्तै बागमती सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टे प्रदेश सभामा प्रहरी ऐन दर्ता गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.