|

बारा : बाराको करैयामाई ७  उम्जनको स्वास्थ्य चौकीबाट अवकास पाएर रिटायर्ड जीवन बिताइरहेका ७० वर्षीय पूर्व स्वास्थ्यकर्मीलाई ४ वर्षअघि नहरमा लडेदेखि विभिन्न रोग च्याप्न थाल्यो। घरको भर्‍याङबाट लड्दा घुँडामा चोट लागेपछि ज्वरो र खोकी सुरु भयो। 

ज्वरोले सिकिस्त भएपछि परिवारले उनलाई कोल्हवी बजारबाट एम्बुलेन्समार्फत जेठ २ गते वीरगञ्जको नेसनल मेडिकल कलेज पुर्‍याए। अस्पतालमा चिकित्‍सकले दाहिने फोक्सोमा खराबी ‘लङ्गस डिस्ट्रोए’ भएर निमोनिया भएको भन्दै उपचार गर्न सुरु गरे। दुई दिनको उपचारकै क्रममा उनको मृत्यु भएपछि अस्पतालले परिवारको जिम्मा लगायो।

मृतकका चार छोरा, एक छोरी, एक बुहारी र एक नातिनी छन्। बहिनी ज्वाइँको घर वीरगञ्जमा थियो, त्यसैले उपचारमा जेठा र कान्छा छोरा मात्र आएका थिए।

‘बुवाको मृत्यु भएपछि हामीलाई जिम्मा लगायो,’ मृतकका छोराले भने–‘शव बुझेर एम्बुलेन्समा हालेर शव गाउँ ल्यायौं।

मलामी ७० भन्दा बढी

लकडाउनक कारण धेरै मान्छे गाउँ फर्किएका छन्। गाउँमा मान्छेको मृत्युमा खबर पाउनेबित्‍त्तिकै पुग्ने चलन छ। आफ्नो धार्मिक परम्परा पूरा गर्दै घरबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको घाटमा अन्त्येष्टि भयो। दाहसंस्कारमा ७० भन्दा बढी मलामी सहभागी भएका थिए।

शवलाई चितासम्म पुर्‍याउन गरिने विभिन्न विधिमा घरकै सदस्य सदस्य सहभागी थिए। स्थानीयको भनाइ उधृत गर्दै वडाध्यक्ष बृज चौधरीले बताएअनुसार मृतकको शव बाँध्ने बोक्ने प्रक्रियामा छोराहरु नै सहभागी भएको पाइएको छ। मलामीहरुले सामाजिक दूरी कायम गरेको बताएका छन्। चार भाइ छोरा अहिले किरिया बसेका छन्।

कोरोना परीक्षणबारे ढिलो जानकारी

मृतकको कोरोना भाइरस परीक्षणबारेमा अस्पताले ढिलो गरि जानकारी गराएको पाइएको छ। केही दिनअघि मात्र अस्पतालले फोन गरेर स्वाब संकलन गरिएको बारेमा जानकारी गराएको मृतकका जेठा छोराले बताए। उनका अनुसार अस्पतालबाट फोन गरेर निधन भएको दिन ४ गतेको हो कि ८ गतेको भनेर जानकारी लिएका थिए।

‘मैले ४ गतेको भनिदिएँ। परीक्षणका लागि स्याम्पल पठाउनु छ, त्यही भएर कल गरेको भनेर फोन राखिदियो,’ मृतकका जेठा छोराले भने–‘यसबाहेक अस्पतालले हामीलाई केही भनेको छैन।’

सोमबार बिहान नेशनल मेडिकलमा उपचारका क्रममा मृत्यु भएको बाराका एक वृद्धमा कोरोना पुष्टि भएको खबर नारायणी उपक्षेत्रीय अस्पतालबाट बाहिरियो। सञ्चारमाध्यममा कलैया कि करैयामाई भन्नेमा दुविधा हुनेगरी समाचार प्रकाशित भए। कलैया उपमहानगरपालिका वडा नं. ७ का अध्यक्षसँग बुझ्दा अस्पतालमा मृत्यु भएको घटना नभएको सुनाए।

त्यसपछि करैयामाई गाउँपालिकाका अध्यक्ष भवनेश्वर धामी र वडा नं. ७ का अध्यक्ष विरिज चौधरीसँग सम्पर्क गर्दासम्म उनीहरु मृत्युको घटना र कोरोना पुष्टिबारे बेखबर थिए। सोधखोज गर्दै जाँदा घटना पुष्टि भयो।

कोरोनाको कल्पना पनि गरेका थिएनौं

मृतकको परिवार वृद्धको निधन कोरोनाको संक्रमणबाट भएको पुष्टि भएपछि आश्चर्यमा परेको छ। कल्पनासमेत नगरेको घटना भएपछि उनको परिवारमा सन्‍त्रास छाएको छ। अस्पतालको लापरबाहीले परिवारले दुःख भोग्नु परिरहेको उनले गुनासो गरे। मृतकको परिवार दशौं दिनमा काम सक्ने तयारीमा जुटेका बेलामा एक्कासि आएको खबरले अन्यौलमा परेको वडा अध्यक्ष विरिज चौधरीले जनाए।

‘अब कसरी अघि बढ्ने भन्नेबारे छलफलमा छौं,’ वडा अध्यक्ष विरिज चौधरीले भने–‘घरलाई तार लगाएर सिल गरेका छौं। टोलमा त्रास छाएकाले सतर्कता अपनाउनु भनेर सम्झाई बुझाई गरिरहेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.