|

जाजरकोट : शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँबासीबीच झडप हुँदा बेपत्ता तीन जना युवाको लास फेला परेको छ। 

अझै ४ जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना सोती गएका थिए। 

सोतीमा गाउँले र युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेस बुढाको लास फेला परेको छ। 

सुनार र विकको शव आइतबार भेटिएको भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ। भेरी नगरपालिकाका सन्जु विक, गोविन्द शाही  लोकेन्द्र सुनार र गोपाल बुढाथोकी  शनिबारदेखि बेपत्ता छन्।

घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बर मल्लसहित सोतीका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठकबहादुर केसीले जानकारी दिए।। 

डुम भन्दै ढुंगामुढा गरे

घटनामा घाइते आशीष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेदकारी गालीगलौज गर्दै ढुंगामुडा गरेको बताएका छन्। 

‘हामीलाई देख्नेबित्तिकै केटीकी आमाले यी डुमहरु कुटाई नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन्’, सरोजले भने, ‘हामीलाई बेसरी गाली गर्न थालेपछि फर्किएका थियौं। फर्किइसकेपछि गाउँलेहरु ढुंगामुढा गर्दै आए। उनीहरुले लखेट्न थाले। हामी भाग्यौं। कोही कता कोही कता भयौं। कतिजना भेरी नदीमा हाम्फाल्यौं।,’ 

चार किलोमिटर लखेटे

४ किलोमिटरभन्दा बढीको दूरीमा लखेटेको अर्की प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिएकी छन्। भेरी नगरपालिकाबाट १९ जना युवा नवराजकी प्रेमिका सोतीकी मल्ल थरकी १७ वर्षिय युवतीलाई भगाउन भनी गएका थिए। १२ जना घाइते छन्। 

यो समाचार तयार पर्दासम्म जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडितपक्षले दोषीमाथि कारवाहीको माग गदै धर्ना दिइरहेका छन्। मुद्दासम्म जाजरकोट नै चलाउनु पर्ने उनीहरुको भनाई छ। 

सबैको लास जिल्ला अस्पतालमा राखिएको छ। तर परिवारले लास बुझ्न मानेका छैनन्। सोतीका स्थानीय र छिमेकी जाजरकोट भेरी नगरपालिका १ कालेगाउँका स्थानीयवासीहरुले लखेटेको आफूहरुले देखेको बताएका छन्। 

वर्गीय मुक्तिका लागि लडिएको भनिएको जनयुद्धको केन्द्र रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.