|

काठमाडौं भूकम्पले क्षति गरेको रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भएपनि अन्तिम चरणमा आएर माटोको अभाव भएको पाइएको छ।

लकडाउनमा केही दिन काम रोकिएपनि पुन सुचारु गरेर काम गरेको भएपनि अहिले माटोको अभाव हुदै गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

माटोको अभावले मात्र निर्माणको प्रक्रियामा केही ढिलाइ भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ ईन्जिनियर राजुमान मानन्धरले बताए। कोरोना भाइरसको त्रासले स्थानीयले माटो ल्याउनको लागि गाडी प्रवेश गर्न नदिइरहेको  मानन्धरले जानकारी दिए।

‘माटो आज अन्तिम दिन सम्मको लागि मात्र छ,’ मानन्धरले भने,’ माटो भरे बेलुका सम्म आएन भने काम रोकिन्छ। तर, स्थानीयले एउटा र दुईवटा गरेर माटोको गाडी छिराउन दिइरहेका छन्।‘

रानीपोखरी निर्माणको लागि  १ सय टिप माटोको आवश्यक  पर्ने उनले प्रष्ट पारे। माटो निरन्तर आएमा १० दिनमा रानीपोखरीमा पानी हाल्नलाई सकिने उनको भनाइ छ। स्थानीयसँग वार्ता गरेर माटो ल्याउनको लागि प्रयास गरिरहेको उनले बताए। रानीपोखरी पुनर्निर्माणको लागि गोकर्णबाट माटो ल्याइरहेको छ।रानीपोखरीको वालमा इटा लगाउने काम भइरहेको उनले जानकारी दिए। वालमा लगाउने इटाको अभाव नभएभा वालको काम दुई दिन भित्रमा सकिने उनले स्पष्ट पारे।

बालगोपालेश्वर मन्दिरको निर्माण कार्य रोकिएको छ।इटाको फरक-फरक आकारमा इटाको जरुरी पर्ने भएकोले मन्दिर निर्माण कार्यमा ढिलाई भइरहेको मानन्धरले थाहाखबरलाई जानकारी दिए। मन्दिरको लागि चाहिएको जस्तो इटा निर्माण हुन सकेको छैन,’मानन्धरले भने,’ लकडाउनले गर्दा इटा बनाउने मजदुर सबै घरमा छन्। इटा आएपछिमात्र मन्दिरको काम अगाडि बढछ।‘

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो। मन्दिर, मन्दिरसम्म जाने पुल र वरपरको बगैँचा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएरतुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो।

प्राधिकरणले मन्दिर निर्माणका लागि रु १४ करोड २७ हजार ५५७ मा ठेक्का र उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँधमा कालो माटो राख्ने र वरपरका क्षेत्रमा पर्खाल लगाउने कार्यका लागि रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ।

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनर्निर्माणको सुरुवात रानीपोखरीबाट गरिएको थियो। भूकम्प गएको १० महिनापछि अर्थात् माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शुभारम्भ गरेकी थिइन्।

‘मजदुर अभावमा धरहराको काम रोकियो

लकडानउमा मजदुर घर गएर नफर्केको कारणले धरहराको काम रोकिएको मानन्धरले जानकारी दिए। ‘सम्पूर्ण मजदुर गृहजिल्ला सप्तरी गएकोले यहाँको काम पूर्ण रुपमा रोकिएको छ,’ उनले भने,’ धरहराको बेसमेन्टको केही भागको काम भइरहेको छ। तीन-चार दिनमा त्यसको ढलानको काम पनि हुन्छ। लकडाउन भएर पनि दुईपटक धरहराको तल्लो भाग ढलान भइसकेको छ।‘धरहराको अन्य भाग सुविद्यासम्पन्न पार्किङ निर्माण गर्नको लागि सञ्चाय कोषको भवनलाई ५० प्रतिशत भन्दा बढी भत्काइसकेको पनि उनले जानकारी  दिए।

३ अर्ब ४५ करोडको लागतमा धरहरा  जिआइइटिसी-रमन जेभी कम्पनीले निर्माण गरिरहेको छ।पुनर्निर्माणपछिको धरहरा बाहिरी र भित्री संरचनासहित २२ तलाको हुनेछ। यो धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण बन्ने भएको छ। नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै हुनेछ। मोटाइ भने पहिलेको भन्दा केही धेरै हुनेछ ।

भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेमले छोपेर राखिनेछ। नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको हो । धरहराको क्षेत्र ४२ रोपनीको छ। धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक तीनतले सवारी पार्किङस्थल पनि बन्नेछ ।

पार्किङ क्षेत्रमाथि मनोरम बगैँचासमेत निर्माण गरेर कलात्मक ढंगको प्रवेशद्वार हुनेछ। प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ। पुनर्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिनेछ। निर्माणका क्रममा पुरातात्विक महत्वलाई कायम राखिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.