जाँगरिला काका-छोरी, तरकारी खेतीमा ढुक्क

|

काठमाडौं : भनिन्छ ‘खाने मुखलाई जुँगाले छेक्दैन अर्थात् कसैको इच्छा भए, रोक्न सकिन्‍न’ यही उखान वा भनाइ जस्तै बनेका छन् कृषक वीरबहादुर लामा। अहिले  लकडाउन छ। जताततै कोरोना भाइरसको त्रास छ। तर, लकडाउनमा झनै सिन्धुपाल्चोक घर भएका लामाको खेती किसानमा जाँगर बढ्दै गएको छ। कोरोनाबाट बँच्‍न उपत्यकावासी घरभित्रै बसेका बेला अहिले उनले गोकर्ण नाम्गेलमा  रहेको खेत तरकारी बालीले हरियाली बनाएका छन्।

साढे ९ रोपनी जग्गा भाडामा लिई त्यही बसेर टमाटर,काउली,काक्रा,आलु जस्ता तरकारी खेती लगाएका छन्। उनी भन्छन्,‘लकडाउन छ। तर, घरमा बसेर मात्र हुँदैन। केही न केही गर्नैपर्छ। हामीले लगाएको तरकारी बाली राम्रो हुँदै गएको छ। यसले झनै काम गर्ने प्रेरणा दियो।’ उनको लटरम्म तरकारी खेती देख्दा त्यहाँ वरिपरि हिँड्ने व्यक्ति चकित पर्छन्।

कृषक लामाको प्रशंसा गर्छन्। तर, तरकारी खेती लगाएको भर्खरै एक वर्ष पूरा भएको बताउँदै उनी अहिले सिक्ने क्रममा रहेको बताउँछन्। भन्छन,‘अहिले तरकारी खेती गर्न सिक्दै छु। अझै निर्भर हुन सकेका छैनौँ।’ उनले अघिल्लो वर्षको तरकारीखेतीमा घाटा गएको सम्झिँदै यस वर्ष भने ७५ प्रतिशत घाटामा नजाने भन्दै उनी ढुक्क छन्।

‘गोलभेंडाको बोट,काउलीलगायत सबै तरकारीे बोटविरुवा राम्रो छ,’उनले मुस्कुराउँदै भने,‘नयाँ विरुवाहरू पनि राम्रो बन्दै हुर्किएका छन्। अघिल्लो वर्षभन्दा अहिले तरकारीखेतीसम्बन्धी ज्ञान बढेको छ। यसवर्ष घाटा हुँदैन भन्नेमा ढुक्क छु।’ सिन्धुपाल्चोककै सुशीला लामा पनि त्यही कृषिमा आबद्ध छिन्। साइनोमा उनीहरूको काका, छोरी पर्छन्। अहिले उनीहरूलाई गोलभेंडामा औषधी छर्ने,पात टिप्ने जस्ता काममा भ्याइनभ्याई छ। दिनभर खेतमै उनीहरूको दैनिकी बित्छ। 

विदेशबाट फर्किएपछि कृषिमा

लामा ३७ महिना दुबईमा बसेका थिए। त्यहाँ पनि कमाइ राम्रै थियो। त्यसपछि नेपाल आएर कतार गए। त्यहाँ पाँच वर्ष बसे। कमाइ पनि राम्रै थियो। कमाइ राम्रो  भए पनि परिवारसँग टाढिएकाले विदेशमा मात्रै बस्न चाहेनन् उनी। त्यसपछि उनी स्वादेश फर्किए। उनी भन्छन्,‘दुईवटै देशमा कमाई राम्रै थियो। मेरो प्रमोसन हुँदै थियो। तर, नेपालमै बसेर केही गर्ने इच्छा भयो। त्यसैले नेपाल फर्किएँ।’

विदेशमा भन्दा आफ्नै मातृभूमिमा पसिना बगाउनुको सान बेग्लै रहने उनको अनुभव छ। ‘विदेश भनेको विदेश नै हो,’गोलभेंडाको पात टप्पटप्प टिप्दै लामा सुनाउँछन्,‘जहाँ आफ्नो परिवार आफन्त हुँदैन। पैसाले मात्रै जीवनमा सुख मिल्दैन। नेपालमा जुनसुकै ठाउँ भए पनि आफ्नै घरको आँगन जस्तै हो। दुःख विमार हुँदा परिवार हेर्न पाईन्छ। सहयोग पाइन्छ। ढिँडो,खोले खाएर भए पनि खुसीका साथ परिवारसँग जीवन बिताउन सकिन्छ।’

विदेशमा दुःख पर्दा सहयोग गर्ने कोही मनकारी व्यक्ति नभेटिने उनको भनाइ छ। ‘कति विदेशमा मात्रै पसिना बगाउनु। नेपालमा पनि केही गर्न सकिन्छ कि भनेर तरकारी खेती थालको हुँ।’ उनले थपे।  यो तरकारी खेतीमा  छोरी पर्ने सुशीला लामाको पनि लगानी छ। तरकारी खेतीमा उनीहरूको टिम नै छ।

उनलाई पनि तरकारी खेतीमा उत्तिकै जोस जाँगर लगाउँछिन्। ‘लकडाउन भए पनि नभए पनि हामीलाई असर गर्दैन,’उनले भनिन्,‘हामी २४ घण्टा खेतमै काम गर्नुपर्छ। तरकारी लगाउने सिजन नै भएकाले खेतीमा व्यस्त छौँ।’

१५ लाख बढी लगानी

उनी पनि रोजगारीको सिलसिलामा तीन वर्ष दुबई देश गएकी थिइन्। स्वादेशमै केही गर्छु भन्ने सोच लिएपछि उनी फेरि नेपाल फर्किइन्। त्यसपछि लगानी गरेर तरकारी खेती सुरु गरिन्। उनका अनुसार तरकारी खेतीमा  १५ लाख भन्दा बढी लगानी लागेको  छ। एक रोपनी जग्गामा औषधी,मल, विरुवाको मर्मतसम्भार गर्दा करिब डेढ लाख लगानी लाग्छ। अघिल्लो वर्ष तरकारी खेती लगाउँदा ज्ञान नभएकाले तीन लाख भन्दा बढी घाटामा गएको उनले सुनाइन्।

तरकारीखेती गर्दाको चुनौती सुनाउँदै उनले भनिन,‘तरकारी खेती गर्छु भनेर मात्र हुँदैन। ज्ञान हुनुपर्छ। विरुवामा किरा लाग्छ। स्याहारसुसार गर्नुपर्छ। भित्री मनदेखि नै लगाव लगाउनुपर्दो रहेछ।’ उनका अनुसार एक रोपनी जग्गाको वार्षिक साढे १६ हजार भाडा तिर्नुपर्छ। राम्रोसँग तरकारीखेती गरेमा धेरै फाइदा लिन सकिने उनको भनाइ छ।

केही सीप नसिकी विदेश जाँदा चर्को घाममा दुःख गर्नु परेको ती दिनहरु उनलाई अझै पनि ताजै सम्झना छ। त्यसो त विदेश पलायनको तयारीमा रहेका युवाहरुलाई काका, छोरीको सुझाव र बन्ती छ,‘जति खर्च गरेर विदेश गए पनि त्यहाँ आधा मात्रै कमाउन सकिन्छ। ऋण तिर्नुपर्छ। नेपालमै केही गर्न सकिन्छ। विदेश नजानुस्। आफ्नो मातृभूमिमा पसिना बगाउँदै सुन फलाउला। परिवारसँग खुसीसाथ रमाउँला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.