कोरोना बिशेष अस्पताल गण्डक मात्रै

|

पर्सा " कोरोना संक्रमित पर्साका दुई जना पत्रकार सहित ४३ जना एकै पटक ठिक भई सोमबार डिष्चार्ज भएपछि नारायणी अस्पताललाई सेनिटाइज गरिएको छ। 

नारायणीमा उपचार सबै संक्रमित चार पटकमा डिष्चार्ज भएपछि मंगलबार अस्पताललाई सेनिटाइज गरिएको हो। 

नारायणी अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई चार पटक गरी डिष्चार्ज भएपछि मंगलबार अस्पताललाई सेनिटाइज गरिएको नारायणी अस्पतालले जनाएको छ। 

जेनेरल अस्पतालका रुपमा नारायणीलाई पुनः संचालन गर्ने तयारी अनुसार सेनिटाइज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। केही दिन भित्रमा नै साविकमा झैं नारायणीमा जेनेरल सेवा संचालन गर्ने तयारी छ उनले भने। 

डिष्चार्ज ७४ तर व्यक्ति ७२ मात्र 

पर्सामा गएको चैत ३० गते ३ भारतीय जमाती पहिलो पटक कोरोना संक्रमित पुष्टि भएपछि नारायणी अस्पतालमा नै कोरोना उपचार गर्ने अस्पताल बन्यो। 

कुल ७२ जना संक्रमित उपचार गरेको नारायणीमा डिष्चार्जको संख्या गएको बैशाख १४ गते ४ जना, जेठ १० गते ९, जेठ ११ गते राति १८ जना र सोमबार ४३ गरी ७४ जस्तो देखिए पनि रौतहटका १९ वर्षीय युवक र एक भारतीय जमाती पुनः अस्पताल भर्ना भएर दुई पटक डिष्चार्ज हुँदा व्यक्तिचाहिँ ७२ मात्र रहेको नारायणी अस्पतालले जनाएको छ। 

कोरोनाको उपचार सुरु भएपछि साविकका सबै सेवा बन्द गरिएका थिए। कोरोनाका बिरामीलाई नारायणी अस्पतालकै नामले गण्डक अस्पताल अस्थायी कोरोना बिशेष अस्पताल बनेपछि नारायणीलाई पूनः जेनेरल अस्पताल बनाउने काम अगाडी बढाइएको चिकित्सकहरुले बताए। 

कोरोना अस्पताल तत्काललाई गण्डक 

गरिब विपन्नको उपचार गर्ने नारायणीलाई जेनेरल अस्पतालकै रुपमा कायम गर्न आफ्नै बिशेष पहलमा गण्डक अस्पताललाइ कोरोना उपचार गर्ने अस्पताल बनाइएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताए। 

अर्को विकल्प भएपछि र संक्रमित सबै डिष्चार्ज भइसके पछि नारायणीलाई सेनिटाइज गरिएको स्थानीय सरकार प्रमुख समेत रहेका नगरप्रमुख सरावगीले भने। 

दुई दमकलबाट सेनिटाइज 

महानगरका २ वटा दमकलमा सोडियम हाइपोक्लोराइडको केमिकल पानी मिक्स गरी अस्पताललाई पुरै सेनिटाइज गरिएको उनको भनाइ छ। बिरामी नराखुन्जेल दैनिक सेनिटाइज गर्नु पर्छ भने पनि महानगर तयार रहेको नगरप्रमुख सरावगीको भनाइ छ। 

अस्पतालका मेसु डा. उपाध्यायले ७२ घण्टापछि संचालन गर्न मिल्ने बताएका छन्। ‘डाइलाइसिस, इमर्जेन्सी, ओपीडी लगायतका सबै वार्डमा कोरोना संक्रमित राखिएका थिएनन्’, उनले भने, ‘त्यो भन्दा पनि चाडो गर्न सकिन्छ कि भन्ने कुरा पनि चल्दैछ। स्वास्थ्यकर्मी लगायतको आवश्यक प्रबन्ध गरी जति सक्दो चाँडो जेनेरल सेवा संचालन गर्ने निष्कर्ष छ।’

नयाँ व्यवस्था गरिँदै 

नारायणी अस्पताल कोरोना अस्पताल घोषणा भएपछि अस्पताल विकास समितिबाट राखिएका सबै कर्मचारी हटाइएको थियो। 

तर फेरि कर्मचारीको प्रबन्ध गरी जति चाँडो सबै सेवा सञ्चालन गर्ने नारायणी अस्पताल प्रशासनले पनि जनाएको छ। नारायणीकै  नाममा गण्डक अस्पतालमा २८ जना कोरोना संक्रमितको उपचार हुँदै छ। त्यहाँ ७० जनासम्म बिरामीलाई उपचार गर्न सक्ने क्षमता रहेको पनि अस्पताल प्रशासनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.