नेपालमा सकिएको छैन वर्गसंघर्ष, ब्रह्माणवाद हावी छ

|

काठमाडौं : रुकुममा जाजरकोटका तीनजना दलित युवकको हत्या गर्ने गरी भएको हिंसाले नेपालमा अझै वर्ग संघर्ष नसकिएको सांसदहरुले बताएका छन्।

मल्ल थरकी युवतीसँग प्रेम गरेकै कारण जाजरकोटका युवक नवराज विकले ज्यान गुमाउनुपरेपछि मंगलबार बसेको संसद बैठकमा सांसदहरुले आक्रोश पोखेका हुन्। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रुकुम घटनाले अझै पनि वर्ग संघर्ष नसकिएको पुष्टि भएको बताए। 'रुकुम घटनाले वर्ग संघर्ष अझै चालु छ भन्‍ने देखाउँछ। प्रजातन्त्र र प्रजातान्त्रिक पार्टीहरुलाई चुनौती दिएको छ', उनले भने, 'साँचो अर्थमा प्रजातन्त्र कायम भएको छैन भन्‍ने देखाउँछ। घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नु आवश्यक छ।'

शनिबार बेलुकी रुकुम पश्‍चिमम चौरजहारी नगरपालिका-८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षीय युवक नवराज विकसहित तीनजनाको हत्या भएको थियो।

नवराजसहित तीनैजनाको शव भेटिएको छ। अन्य चारजना बेपत्ता छन्। झडप हुँदा बेपत्ता तीन जना युवाको लास फेला परेको छ। यो घटनालाई लिएर मंगलबार सदनका दुवै सदन तातेका छन्।

नेकपाका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले यो घटनालाई सामान्य रुपमा लिँदै संसदमा बोलेपछि उनीविरुद्ध नाराबाजी नै भयो। उनले घटनालाई राजनीतिकरण गर्न खोजिएको भनेपछि कांग्रेससहितका दलका सांसदहरुले उनीविरुद्ध उठेर नाराबाजी गरे।

त्यही क्रममा नेकपाका सांसद महेश्वर जंग गहतराज देशको कानुन र सभ्य समाजको मानवीय संवेदनालाई चुनौती दिने र गिज्याउने यो घटनालाई जति निन्दा गरेपनि कम हुने बताए। 

'यो घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दछु। यो घटनालाई अनुचित राजनीतिकरण नगर्न आग्र गर्छु', उनले भने, 'यस घटनालाई माओवादी जनयुद्धसँग नजोड्न पनि म चुनौति दिन चाहन्छु। म त्यही जिल्लाको उपज हुँ । यो अपराध हो यो मानवीय अपराधलाई अपराधको रुपमा लिइयोस्।'

सांसद गहतराजले जातीय विभेदका रुपमा भएको अपराधलाई त्यही अपराधको  रुपमा लिनुपर्ने बताउँदै त्यसका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।


कांग्रेसका सांसद प्रकाश रसाइली 'स्‍नेही'ले यो घटना मात्रै नभएको बताउँदै संसदीय छानविन समिति गठन गर्न माग गरे। उनले रुकुम र जाजरकोटका संघीय संसदको सहभागितामा संसदीय छानविन समिति गठन गर्नुपर्ने बताए।

'स्थानीय वडाअध्यक्ष डम्बर बहादुर मल्लको नेतृत्वमा यो सबै घटना भएको छ। त्यहाँको प्रहरीले किटानी आएको छैन भनिरहेको छ। फौजदारी अभियोग जस्तो कसुरको विषयमा किटानी जाहेरी आउनुपर्ने?', उनले प्रश्‍न गरे, 'हामीलाई सूचना प्राप्त भएको छ। घर परिवारका मान्छेलाई दबाब दिए मुद्दा नचलाउने खेल भइरहेको छ। थोरैभन्दा थोरै मान्छेलाई मात्रै थुनेर अरुलाई छाड्ने कुरा भएको छ।'

उनले १८ जना मान्छेलाई लखेट्ने घटना सानो नभएको उल्लेख गरे। '३ जना मान्छे वेपत्ता हुने। ३ जनाको हत्या हुने। ५ जना मान्छे घाइते हुनका लागि त्यो वडाको कति बल प्रयोग भएको छ हामी सहजै अनुमान गर्न सक्छौँ', उनले भने, 'त्यसैले दुवै जिल्लाका संघीय सांसदको सहभागितामा शक्तिशाली संसदिय छानविन समिति गठन गरियोस्।'

सांसद बिमला विश्वकर्माले रुकुम पश्चिमको घटनाले अमानवीयताको परकाष्टा नाघेको बताइन्। 

'छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि किन सानो जात भएकै कारण मारिन्छन् दलितहरु? अन्तरजातिय विवाह गरेकै कारण कति दलितका छोराछोरीले ज्यान गुमाउनुपर्ने हो?', उनले सोधिन्, 'रुकुम घटनामा नवराज बिकसहित ३ जनाको ज्यान गएको छ। ३ जना हराइरहेका छन्। यो देश अन्धा कानुन भएको देश हो? ब्रहामणवाद कहिलेसम्म हावी हुने यो देशमा? एउटा ब्राहमण-क्षेत्रीको छोराछोरी मर्दा पुरा देश आन्दोलित हुन्छ तर दलितका छोराछोरी कुटेर मारिन्छ्न्,झुण्ड्याएर मारिन्छन्, बलात्कार गरेर मारिन्छन् सिंगो समाज नै तै चुप मै चुप हुन्छ। किन?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.