|

गुल्मी : आफूलाई कोरोना सक्रंमण भएपछि धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरल आफैं मिडियामा आएका छन्। केही समयअघि मदानेमा कोरोना सक्रंमित भेटिएपछि आफ्नो गाउँपालिकाभित्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकमीको गत जेठ १० गते आरडिटी गराएका थिए। 

उक्त आरडिटीमा एक जनप्रतिनिधिमा कोरोना देखिएको थियो। आफू पनि उनीसँगै दैनिक कामकाजमा रहेको बताएका थिए। त्यसपश्चात उनको स्वाब सकंलन गरी पिसिआर परीक्षणका लागि भैरहवा पठाइएको र सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको बताएका हुन्।

साथै आरडिटी क्रममा पोजेटिभ देखिएका अर्का जनप्रतिनिधिको भने अझै रिपोर्ट नआएको जानकारी दिए। लकडाउनको अवधिमा आफू गाउँपालिकाका विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाइन अनुगमन र अन्य व्यवस्थापनको काममा सक्रिय भएर लागेको पनि बताएका छन्। आफू जिल्लाको विपद् व्यवस्थापन समितिको बैठकमा पनि सहभागी भएको उनले बताएका छन्। 

बाहिर भने कतै नगएको र कहाँबाट सक्रंमण भयो भन्नेबारे आफैं अचम्मित भएको उनको भनाइ छ। त्यस्तै उनले भारतबाट आएका एक जनाको स्वाब संकलन गरेर पठाइएको र उनको रिपोर्ट पनि पोजेटिभ देखिएको बताए। तर आफू उनको सम्पर्कमा पनि नगएको जनाए। 

केही समयअघि गाउँपालिकामा भारतबाट आएका ३०–४० जनाको स्वाब सकंलन गरी पठाइएको थियो। त्यस क्रममा आफू त्यहाँ गएको र जिल्लाका कार्यक्रममा जाँदा अन्य सवारीसाधन प्रयोग नगरेको बताएका छन्। 

‘म आफ्नै मोटरसाईकलमा यात्रा गर्ने गर्छु,’ उनले भनेका छन्। 

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजिटिभ देखिएको हो। अहिले स्वास्थ्यमा कुनै समस्या नआएकाले घरमै क्वारेन्टाइनमा रहेको जनाएका छन्। 

‘अवसरको रुपमा लिएको छु’ 

उच्च मनोबल बनाएर बसेको र कोरोनालाई जित्छु भन्ने आँट आफूमा रहेको उनले बताए। एकान्तबासले आफूलाई अध्ययनशील बनाउने र आगामी वर्षका योजना बनाउन, गाउँपालिकालाई समृद्ध बनाउन कोरोनाले समय दिएको उनको बुझाइ छ। सम्पूर्ण धुर्कोटबासीलाई धैर्य र संयमित बन्न आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.