|

इलाम : एपिएफ क्लबका पूर्वखेलाडी एवं प्रशिक्षक नरकुमार राईकी क्यान्सरपीडित छोरी कसुमीको उपचारका लागि सहयोगी हातहरु बढ्न थालेका छन्। कसुमीको जीवन बचाउन हालसम्म ७ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।

सोही क्रममा किरात राई समाज सिंगापुर र इलामेली लाहुरे समाजले दोस्रो चरणमा १ लाख ७८ हजार ८६० रुपैया कसुमीको उपचारका लागि पठाएका छन्। यसअघि सिंगापुरबाट पहिलो चरणमा १ लाख ५३ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको थियो।

धनराज राई र प्रताप राईको पहलमा संकलन भएको रकम कुमार हाङखिमले हस्तान्तरण गरे। हस्तान्तरणका क्रममा १५ हजार ५ सय ५० रुपैया थप संकलन भएको नरकुमार राईले जानकारी दिए। त्यसैगरी, मकाउस्थित डुवान रिसोटमा कार्यरत पुर्व फिफा रेफ्री सचिन अमात्य र पूर्व महिला राष्ट्रिय फुटबलर दिपा क्षेत्रीले १ लाख ५५ हजार ५ सय रुपैया संकलन गरेर पठाएका छन्।

उनीहरुले मकाउमा कार्यरत ४८ जनाबाट संकलन गरेर पठाएका हुन्। हालसम्म कसुमीको उपचारमा १४ लाख रुपैया भन्दा बढि खर्च भएको नरकुमारले बताए। कसुमीको बारेमा थाहाखबरले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ। कसुमीको उपचार यसअघि ग्रिन नेपाल एफसी छाङ्वान कोरियाबाट ५१ हजार, मलेसियामा रहेको उत्तम राईको पहलमा ५२ हजार १ सय ४०, एपिएफ महिला टिमबाट ३२ हजार तथा एपिएफ व्याडमिन्टन परिवारबाट ८४ हजार सहयोग प्राप्त भएको छ।

उपचारमा अझै रकम आवश्यक रहेकाले सहयोगी दाताहरुले रिना राईको नाममा सिद्धार्थ बैंक स्वयम्भू शाखामा रहेको खाता नं ०१९१५२६९१४६ मा रकम जम्मा गर्न सक्ने नरकुमारले बताए। बेलायतमा रहेका इलामेली लाहुरेहरुले समेत कसुमीको जीवन बचाउनका लागि सहयोग रकम संकलन गरिरहेका छन्। उनीहरुले केही दिनपछि रकम हस्तान्तरण गर्ने जानकारी पाएको नरकुमारले बताए।

फुटबल क्षेत्रमा ‘नरे दाई’ को नामले परिचित इलामको देउमाई नगरपालिका–३ शान्तिडाँडाका नरकुमारले २०६२ सालदेखि २०६८ सालसम्म एपिएफमा खेलाडी र २०६४ सालबाट २०७३ सालसम्म महिला टिमलाई प्रशिक्षण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.