|

काठमाडौं :  देशभरमा रणनीतिक र स्थानीय सडक सञ्जालको लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ। 

अर्थ मन्त्रालयले  सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा देशभरमा कालोपत्र सडक १५ हजार २५४ किमी, खण्डस्मिथ नौ हजार २५१ किमी र कच्ची सडक नौ हजार ८४२ किमी निर्माण भएको छ। 

देशभरका रणनीतिक र स्थानीय सडकसमेत गरी १५ हजार २५४ किलोमिटर कालोपत्र, नौ हजार २५१ किमी खण्डस्मिथ र नौ हजार ८४२ किमी कच्ची सडक निर्माण भएको छ। सर्वेक्षणअनुसार सङ्घीय सरकारले ५५९ किमी सडक कालोपत्र, ६५७ किमी सडक खण्डस्मिथ र २५२ किमी कच्ची सडकको निर्माण गरेको छ। फागुनसम्ममा नै १५७ किमी सडक आवधिक मर्मतसम्भार सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ११२ किमी सडक आवधिक मर्मत भएको थियो।

सङ्घीय सरकारले स्थानीय सडक र राष्ट्रिय गौरवका सडकमा गरी १२९ पुल निर्माण सम्पन्न गरेको छ। तीन पुलको लक्ष्य लिएकामा आधाभन्दा कम मात्रै सम्पन्न भएको छ। गत आवमा देशमा २३० पुल निर्माण भएको थियो। 

प्रदेशअनुसार हेर्दा यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा सडक निर्माण भएको पाइन्छ। बागमती प्रदेशमा २५ दशमलव १२ र कर्णाली प्रदेशमा चार दशमलव ४४ प्रतिशत सडक निर्माण भएको छ। 

प्रदेश १ मा ७०३ किमी, प्रदेश २ मा ३४४ किमी, बागमती प्रदेशमा एक हजार २०५ किमी र गण्डकी प्रदेशमा ५७७ किमी सडक कालोपत्र भयो। त्यस्तै, प्रदेश ५ मा ८४५ किमी, कर्णाली प्रदेशमा ७९ किमी र सुदूरपश्चिम प्रदेशमा १९७ किमी रहेको सडक कालोपत्र भएको छ।

राष्ट्रिय गौरवका आयोजनातर्फ मध्यपहाडी (मध्यपहाडी) लोकमार्ग १४० किमी कालोपत्र र १८६ किमी सडक ग्राभेल सम्पन्न भएको छ। हुलाकी राजमार्ग १४२ दशमलव पाँच किमी सडक कालोपत्र भएको र दुई सय किमी सडक ग्राभेल भएको छ। सो आयोजनामा हालसम्म २७० किमी सडक कालोपत्र, ३२५ किमी ग्राभेल र ८५ पुल सम्पन्न भइसकेको छ । उत्तर दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरको ४१ किमी सडक दुई लेनमा ग्राभेल भएको छ भने दुईवटा पुल सम्पन्न भएको छ । ४३५ किमी सडक खण्डको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। कर्णाली करिडोरअन्तर्गत नौ किमी सडक ट्र्याक निर्माण १४ किमी सडक चौडा तथा सुधार गर्ने काम सम्पन्न भएको छ।

करिडोरअन्तर्गतको हिल्सा–सिमीकोट खण्डको पूरा ट्र्याक सम्पन्न भएको छ । कोशी करिडोरअन्तर्गत नौ किमी ट्र्याक निर्माण र नौ किमी ग्राभेल भएको छ।

सर्वेक्षणले स्थानीयस्तरमा निर्माण भएका सडकमा कालोपत्र सडक कम र धुले तथा कच्ची सडक बढिरहेको जनाएको छ। कमजोर गुणस्तर भएका कच्ची सडकहरु असुरक्षित रहेको छ । सुरक्षित सडकको पहुँच उल्लेखीय रुपमा वृद्धि हुन नसकेको र यसले गर्दा यात्रा जोखिम र ढुवानी महङ्गो भएको पनि सर्वेक्षणमा उल्लेख छ। 

स्थानीयस्तरमा सञ्चालन भएका स्थानीय विकास तथा कृषि सडक विभागअन्तर्गत प्रादेशिक तथा स्थानीय सडकमा सबैभन्दा बढी पहाडमा ५४ दशमलव पाँच प्रतिशत र हिमालमा १३ दशमलव सात प्रतिशत सडक निर्माण भएको छ। यो अवधिमा हिमालमा प्रदेशिक सडक दुई हजार १०९ किमी र स्थानीय सडक छ हजार ३२० किमी गरी आठ हजार ४२९ किमी निर्माण भएको छ। पहाडमा नौ हजार ८५३ किमी स्थानीय सडक, २३ हजार ७२१ किमी प्रादेशीक सडक गरी ३३ हजार ५७४ किमी निर्माण सम्पन्न भएको छ। तराईमा पाँच हजार ८० किमी प्रादेशिक सडक र १४ हजार ३१२ किमी स्थानीय सडक गरी जम्मा १९ हजार ३९१ किमी सडक निर्माण भएको छ।

स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत गत फागुनसम्ममा १३९ किमी सडक कालोपत्र, ५८ किमी सडक ग्राभेल र ३३३ किमी आवधिक मर्मत सम्पन्न भएको छ। 

१६ किमी रेलमार्ग निर्माण

रेलमार्गतर्फ चालू आवमा १६ किमीसमेत ५६ किमी रेलमार्ग निर्माण सम्पन्न भएको छ। अहिलेसम्म २९ दशमलव एक प्रतिशत ट्र्याक निर्माण सम्पन्न भएको छ । यही अवधिमा केरुङ–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। 

देशभरका सबै तुइन विस्थापित

यो अवधिमा १४४ झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ भने मुलुकका विभिन्न स्थानमा रहेका १२६ तुइनमध्ये सबै झोलुङ्गे पुलबाट विस्थापित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.