|

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न संसदमा माग गरिएको छ। एन्फा अध्यक्ष शेर्पाले तराई मधेसका नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै उनलाई कारबाही गर्न एक सांसदले माग गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न माग गरेका हुन्। ‘नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ’ श्रीवास्तवले संसद बैठकमा भने, 'उहाँले मधेसीहरूलाई सेनाको माध्यम लगाएर राष्ट्रियगान सिकाउँदैछु भनेर अभिव्यक्ति दिनुभएकाले त्यस्ता अभिव्यक्ति दिने ती जिम्मेवारी व्यक्तिलाई छानविन गरी आवश्यक कारबाही होस्।’

दुरविन नेपालले 'लकडाउनमा नेपाली फुटबल, अबको योजना' लगायतका विषयमा गरेको संवादमा एन्फा अध्यक्ष शेर्पाले आफूहरूले नेपाल आर्मीसँगको सहकार्यमा तराईका चार जिल्ला सप्तरी, सिराहा, धनुषा महोत्तरीमा ग्रास रुटको कार्यक्रम सुरु गरेको बताएका थिए। उनले ग्राँस रुटको कार्यक्रम दुईवटा कारणले सुरु गरेको बताएका थिए।

‘तराईको बच्चाहरूलाई फुटबलप्रतिको आकर्षण बढाउन र राष्ट्रियता सिकाउनका लागि ग्रास रुट कार्यक्रम सुरु गरेका छौँ। किनकि तराईतिर जाँदाखेरि राष्ट्रियताको फिलिङ अलिकता कम छ, उक्त सम्वादमा शेर्पाले भनेका थिए—‘नेपाल आर्मीसँग ग्रास रुटको कार्यक्रम प्रशिक्षण लिँदा आर्मीको ब्यारेकमा आउँदाखेरि कम्तीमा राष्ट्रिय गीतहरू गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलका खेलाडीहरू उत्पादन गर्ने हिसाबले यो कार्यक्रम हामीले यो कार्यक्रम सुरु गरेका हौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.