भारतले परीक्षण नगरी पठाउँदा नेपाललाई संकट

|

काठमाडौं : गत डिसेम्बरको अन्तिम दिन चीनको वुहानमा पहिलो पटक देखिएको नोभल कोरोना भाइरस (कोभिड-१९) संसारभर फैलिइसकेको छ। ज्यान गुमाउनेको संख्या तीन लाखभन्दा बढी पुगिसकेको छ।

 नेपालमा पनि वुहान शहरमा देखिएको दुई सातामै यो भाइरस देखिएको थियो। वुहानमा अध्ययन गर्दै गरेर बिदामा घर आएका एक नेपाली विद्यार्थीमा गत माघ पहिलो साता कोरोना भाइरस पुष्टि भएको थियो।

माघ ९ गते पहिलो संक्रमण देखिएको नेपालमा त्यसपछि दोस्रो भाइरस संक्रमण देखिन झन्डै दुई महिना लाग्यो। गत चैतमा फ्रान्सबाट नेपाल आएकी काठमाडौंकी प्रसिद्धी श्रेष्ठमा कोरोना भाइरस पुष्टि भएको थियो।

कोरोनाको पहिलो संक्रमित भेटिएको दुई महिनापछि दोस्रो संक्रमित भेटिएकी थिइन्। दोस्रो संक्रमित भेटिएपछि नेपालमा भाइरस संक्रमितको संख्या बढ्दै गएको छ।

तीन दिनयता यसले महामारीको रुप लिने संकेत देखाइसकेको छ। तीन दिनयताका संक्रमितको संख्या हेर्ने हो भने एक दिनमै सयको हाराहारीमा बढ्न थालेका छन्। हरेक दिन अघिल्लो दिनभन्दा धेरै संक्रमित भेटिएर रेकर्ड तोड्न थालेको छ कोरोनाले।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तीन दिनको तथ्यांक हेर्ने हो भने गत सोमबार एकैदिन ७९ जनामा नयाँ संक्रमण भएको थियो।

मंगलबार नयाँ संक्रमितको संख्या ९० पुग्यो । बुधबार अपरान्हसम्म यो संख्या बढेर ११४ पुगेको छ। पछिल्लो तीन दिनको संख्या गणना गर्दा कुल संक्रमित गत तीन दिनमा मात्रै  २८३ जना संक्रमित भेटिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो औपचारिक तथ्याङक अनुसार देशभर कुल संक्रमित ८८६ जना पुगेका छन्।

अन्य मुलुकहरुमा बढिरहेका कोरोना भाइरसका संक्रमित र त्यहाँको परिवेशलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञले अनुसन्धान गरिरहेका छन्।

नेपालबारे गरेको अध्ययनमा आगामी जुन र जुलाई महिनामा यहाँ संक्रमितको संख्या अझै उकालो लाग्ने अनुमान  गरिएको छ। जसले गर्दा सरकारले अझै तयारी गर्न पर्ने चुनौती थपिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गत दुई-तीन दिनयताको संक्रमणको दर हेर्दा संक्रमित झनै बढ्ने देखिएको बताए। ‘हामीले जुन अनुमान गरेर तयारी गरेका थियौँ, त्यो नहुने हो कि भन्‍ने देखिएको छ', उनले भने, 'दुई-तीन दिनयताको संक्रमणको दरले अहिले नै अवस्था नियन्त्रण बाहिर गएको छैन। तर हामी अझै सतर्क हुनु पर्ने देखिन्छ।‘

आज बिहान मात्रै दुई नम्बर प्रदेशमा मा थप ७६ जना नयाँ संक्रमित थपिएका छन्। प्रदेश २ को सामाजिक विकास निर्देशनालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ७६ नयाँ संक्रमित थपिएका हुन्।

निर्देशनालयका अनुसार धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय देखिएका संक्रमितहरु अधिकांश भारतबाट आएका हुन्। तिनैबाट सरेपछि कपितय स्वदेशमै रहेकामा समेत संक्रमण देखिएको छ। भारतले विभिन्‍न शहरबाट बिनापरीक्षण नेपालीलाई सीमा नाकामा छाडिदिन थालेको छ। उनीहरुलाई सामान्य आरडिटी परीक्षण गर्दै स्वदेश ल्याउने व्यवस्था सरकारले गरेको छ। अहिले संक्रमण देखिएकाहरु भारतबाट आएका नै हुन्।

भारतबाट स्वदेश फर्कने नेपालीको संख्या बढेसँगै परीक्षणलेसमेत तीब्रता पाएको छ। तर विभिन्‍न स्थानमा बनाइएका क्वारेन्टाइनको अवस्था दयनीय छ। कतिपय स्थानमा क्वारेन्टिनको न्युनतम मापदण्डसमेत नभएको बताइएको छ।

मन्त्रालयले कोरोना भाइरसबाट अहिलेसम्म ४ जनाको ज्यान गएको पुष्टि गरेको छ। कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८३ पुगेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.