पत्रकारको सुराकी गर्दै एजेन्टहरू
पत्रकारको सुराकी गर्दै एजेन्टहरू
ओखलढुंगा : सिंचाइका योजनामा कमिसन लिएको विषय सार्वजनिक भएपछि जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख महेश यादवले सूचना दिने उपभोक्ताहरुलाई धम्क्याउन थालेका छन्। यादवले आफैं टेलिफोन गर्ने र कतिपय ठाउँमा एजेन्ट नै खटाएर धम्क्याउन थालेका हुन्।
कमिसन लिएको, खाली चेकमा सही गराएर भुक्तानी एजेन्टले लिने गरेको, सेटिङमा योजना पार्ने गरेको लगायतका विषय खुलासा गर्ने समतिका अध्यक्ष तथा पदाधिकारीहरुलाई बारम्बार फोन गर्ने, सूचना दिएको विषयमा केरकार गर्ने र धम्कीसमेत दिने गरेको उपभोक्ताहरूको गुनासो छ। यादवले कतिपय उपभोक्तालाई कार्यालयमै बोलाएर योजनाको प्रलोभनसमेत देखाउन थालेको नाम नबताउने शर्तमा एक उपभोक्ता समितिका सदस्यले बताए।
यादवले सूचना दिने उपभोक्ता समितिका पदाधिकारीहरुलाई फोन गरेर भेट्न बोलाउने, प्रतिनिधि खटाएर दबाब दिने गरेको मानेभञ्ज्याङ केत्तुकेका स्थानीय बबिन राईले बताए। उनले भने, ‘स्थानीय व्यक्तिलाई कार्यालय र प्रतिनिधिसमेत पठाएर दबाब दिने, प्रलोभन देखाउने र डर देखाउने काम भइरहेको छ।’
केत्तुकेको मुम्लुमा सेटिङमै उपभोक्ता समितिको अध्यक्षसमेत सुटुक्क फेरेर योजनाको काम शुरु गरि कमिसन लिइएको स्थानीयको भनाइ छ।
उनले आफू निकटका सेटिङमा रहेका योजनामा काम गर्ने एजेन्टहरु राखेर पत्रकारलाई ठिक पार्ने विषयमा समेत छलफल गरेको कार्यालयका एक कर्मचारीले बताए। उनले भने, ‘पत्रकारले भनेको टेरेनन् ठिक पार्नुपर्छ भन्ने विषयमा छलफल भएको छ।’ यादवले कार्यालयकै कर्मचारीलाई समेत दबाब दिने गरेको उनको भनाइ छ।
पत्रकारको सुराकी गर्न एजेन्ट
सिँचाइ कार्यालयको घोटला प्रकरण बाहिर ल्याउने पत्रकारको सुराकी गर्न एजेन्ट नै खटाएको थाहाखबर जिल्ला प्रतिनिधिलाई एक कर्मचारीले बताए। समाचार लेख्ने पत्रकारको निगरानी गर्न उनले प्रतिनिधि खटाएका छन्, दैनिकजसो तिनले पत्रकारहरुलाई फोन गरी विभिन्न प्रलोभन देखाइ यादवलाई रिपोर्टिङ गर्ने गरेको पनि खुलेको छ।
यादवले खटाएका एजेन्टको विवरण, कार्यालयले उपभोक्तामार्फत सञ्चालन गरेका योजनाको लगत स्टमेट उपभोक्तालाई नदिने, खाली काजजातमा सही गराउने र ठेक्काका कागजातसमेत तलमाथि पार्ने गरेको तथ्य जिल्लामा कार्यरत पत्रकारहरूसँग प्राप्त भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।