बजार गए प्रहरीले कुट्ने, गाउँ गए भारतीयले लेखेट्ने

|

बैतडी : नेपाल–भारत सीमा नाका झुलाघाटमा अलपत्र नागरिकको विचल्ली भएको छ। गएको ६ दिनदेखि अलपत्र परेका २ सय ५० बढी नेपाली मजदुर भारतका विभिन्न स्थानबाट रोजगारी गुमेपछि घर फर्किंदिै थिए। 

जेठ १० गतेदेखि झुलाघाटमा अलपत्र उनीहरु यतिबेला जंगलमा बसिरहेका छन्। ‘बजारमा देख्यो भने पुलिसले कुट्छ, गाउँमा देखे भारतका स्थानीयले लखेट्छन्,’ दोगडाकेदार ४ का किशोर भण्डारीले फोनमार्फत भने। 

खाना खाना नपाएकाले बिस्कुटको भरमा जंगलमा बस्नुपरेको पुर्चौंडीका प्रेमसिंह धामीले बताए। सीमानाकासम्म कसैलाई भारतीय गाडीहरुले छाडेर गएको हो भने कोही हिँडेर आएका हुन्। 

उनीहरु झुलाघाटमा पुग्ने बित्तिकै प्रहरीबाट लखेटिएका र भाग्दै जंगलमा पुगेका थिए। अहिले उनीहरु ओढारमा बसिरहेका छन्। धामीले भने, ‘बजारमा पनि बस्ने ठाउँ छैन, ओढारमा बसिरहेका छौं।’

झुलाघाटमा गर्मी अत्याधिक भएकाले आफूहरुलाई बस्न निकै असहज भएको बाजुराका देव सार्कीले बताए। आफूहरुलाई जतिसक्दो चाँडो स्वदेश फर्काउन उनीहरुले माग गरेका छन्। 

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले ती अलपत्र नेपालीलाई स्वदेश ल्याउन पहल भइरहेको बताए। भारतस्थित डिएम कार्यालय सीमापुल खोल्न अनुरोध गरिएकाले आजभोलिमै उनीहरुलाई ल्याइने उनले बताए। 

यसअघि जेठ ९ गते पनि झुलाघाट नाकाबाट ४ किरियापुत्रीसहित ३ सय ७८ जना नेपालीको उद्धार गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.