|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २१ पुगेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुदूरपश्चिमका चार जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

पछिल्लो पटक थपिएका संक्रमित कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष, दार्चुलाको महाकाली नगरपालिकाका ५ का २१ वर्षीय पुरुष र बझाङका ५५ वर्षीय पुरुष छन्।

बझाङका संक्रमितको सुर्खेतमा परीक्षण भएको हो भने अन्य तीन जनाको धनगढी प्रयोगशालामा परीक्षण भएको हो। बझाङका संक्रमित सुर्खेतमा छन् वा बझाङमा भन्ने बारेमा भने मन्त्रालयले खुलाएको छैन। नयाँ थपिएका संक्रमित चारमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा छन्। 

सुदूरपश्चिममा मंगलबार दुई जना कोरोना संक्रमित थपिएका थिए। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप दुई जनमा कोरोना पुष्टि भएको थियो।  कैलालीको जानकी गाउँपालिका–३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीय बालिकामा कोरोना देखिएको थियो।

अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरेकी थिइन्। उनका बुवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। सेती अस्पतालमा उनको उपचार भइरहेको छ।

कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा थिए। उनी पनि भारतबाट आएका थिए। टीकापुर अस्पतालमा उनको उपचार भइरहेको छ। क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो। 

यसअघि गत शुक्रबार, शनिबार र आइतबार गरी सुदूरपश्चिमका १० जनामा कोरोना पुष्टि भएको थियो। धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजेटिभ देखाएका हो। शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।  

कैलालीका तीन जना संक्रमितमध्ये एक जना भारतबाट लुकिछिपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिनअघि भारतबाट फर्किएका थिए। अन्य तीन जनाको भने आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरू टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा छन्। 

शनिबार बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। आइतबार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। 

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। 

धनगढी उप–महानगरपालिका ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। वैशाख १ गते लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीय वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिमका पाँच जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.