सहुलियत दरमा उधारो कारोबार गर्न सकिने

|

काठमाडौं : सरकारले नेपालमा पनि किसान क्रेडिट कार्ड सुरु गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। 

किसान क्रेडिट कार्ड भारतले प्रयोगमा ल्याइसकेको छ। त्यहाँ राम्रो नतिजा दिएको किसान क्रेडिट कार्ड सरकारले नेपालमा पनि लागू गर्न लागेको हो। 

यस कार्डमार्फत किसानलाई सरकारले उपलब्ध गराउने विभिन्‍न सेवा सहजरुपमा प्रदान गरिने खतिवडाले बताए। भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले करोडौं किसानका लागि यो क्रेडिट कार्ड योजना लागू गरिरहेको छ।

भारतमा यो कार्डको अभ्यास सरकारले दिने ऋणसहितका सुविधामा प्रयोग गरिन्छ। निश्‍चित ऋणको सीमासम्म किसानले क्रेडिट कार्ड प्रयोग गर्न पाउँछन्।

नेपालमा पनि भारतमा जस्तै कृषि उपकरण, कीटनाशक, मल, बीउ खरिदका क्रममा यो क्रेडिट कार्डको प्रयोग गर्न सक्नेछन्। भारतमा किसानले कृषि उपकरण तथा बीउ किनेपछि उत्पादन हुने अन्‍न विक्रीपछि तिर्ने व्यवस्था गरिएको छ।

यो कार्ड प्रणाली लागू भएमा किसानले ऋणका लागि अन्यत्र कुदिरहनु पर्ने छैन। यही कार्डमार्फत् सरकारी ढुकुटीबाटै किसानले ऋण पाउने छन्। यसो हुँदा किसानले महँगोमा ऋण खोज्‍नुपर्ने बाध्यता पनि टर्ने विश्वास गरिएको छ। 

कृषि मन्त्री घनश्याम भुसालले सस्तो ब्याजदरमा ऋण दिने गरी यो क्रेडिट कार्ड सिस्ट लागू गर्ने प्रस्ताव अघि बढाएका छन्। यदि भारतमा जस्तै यो कार्ड प्रणाली लागू भएमा नेपाली कृषकका लागि ठूलो सहुलियत मिल्नेछ। यो कार्डमार्फत उधारोमा कृषि उपकरण तथा मल बीउ किनेर बाली फलेपछि कृषकले ऋण तिरे हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.