कृषि र औषधिको कच्चा पदार्थको कर घट्यो

|

काठमाडौं : सरकारले मूल्य अभिवृद्धिकरको दर यथावत राख्दै अन्तशुल्क र भन्सारका केही दरहरुलाई समायोजन गरेको छ। एक दर्जन बढी वस्तुमा लाग्दै आएको अन्तशल्क हटेको छ। चुरोट, गुट्खा, पान मसला लगायतमा स्वास्थ्य जोखिम कर वृद्धि गरिएको छ। 

उद्योगले पैठारी गर्ने उद्योगका कच्चा पदार्थको भन्सार महसुल घटेको छ। हवाई इन्धन र एलपि ग्यास बाहेकका पेट्रोलियम पदार्थ र सुन तथा सुनका गहनामा लाग्ने भन्सार महसुलमा सामान्य वृद्धि गरिएको छ। 

सामुदायिक बनले साल र खयर जातका काठ उपभोक्ता बाहिर विक्री गर्दा लाग्दै आएको १५ प्रतिशत बन पैदाबार शुल्क खारेज भएको छ। स्वदेशी  फर्निचर उद्योगको संरक्षण गर्न सबै किसिमको फर्निचर पैठारीमा अन्तशुल्क लाग्ने भएको छ।   

लघु, घरेलु तथा साना उद्योग, कृषि पशुपंक्षीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले पैठारी गर्ने मेसनरी तथा कच्चा पदार्थ र कृषि फर्म र कम्पनीले पैठारी गर्ने कृषि यन्त्र उपकरण तथा धान मकै गहुँ र तरकारीको बीउ पैठारी गर्दा लाग्ने भन्सार महसुल घटाइएको छ।

सरकारले पर्यटन, ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्य अभिवृद्धि कर, कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाएर चौमासिक कायम गरेको छ।

औषधी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ पैठारीमा मुल्य अभिवृद्धि कर छुट दिएर त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था गरिने भएको छ। 

सरकारले आयुर्वेदिक औषधिको कच्चा पदार्थको भन्सार महसुल घटाउँदै सेनिटाइजरको कच्चा पदार्थको रुपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथाइनुल र पीपीइमा अन्तशूल्क छुट दिएको छ।

फिक्स ब्रोडब्याण्ड सेवा प्रदान गर्ने इन्टरनेट सेवा प्रदायकहरुलाई मर्मत संभार शुल्कमा ५० प्रतिशत दुरसञ्चार सेवा छुट दिने, आफै कार्यक्रम उत्पादन गरी प्रशारण गर्ने रडियो तथा टेलिभिजन प्रशारण संस्थाले तिर्नुपर्ने कारोबार रकमको २ प्रतिशत सेवा शुल्क घटाएर १ प्रतिशत कायम गर्ने व्यवस्था गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.