आज फेरि थपिए २७ संक्रमित, झापामा संक्रमितको संख्या १ सय ७ पुग्यो

|

भद्रपुर : झापामा शुक्रबार थप २७ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। दक्षिणी झापाको कचनकवलमा गाउँपालिकाका क्‍वारेन्टाइनमा बसेकाहरू मध्येबाटै २७ जना सङ्क्रमित थपिएका झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। 

कोसी अस्पताल प्रयोगशालामा उनीहरुको पिसिआर परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी मगरले बताए। योसँगै कचनकवलमा कोरोनाको 'इपिसेन्टर' बन्न पुगेको छ। गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या १ सय सय पुगेको छ। 

झापामा सङ्क्रमितको सङ्ख्या भने १ सय ७ पुगेको हो। कचनकवलमा पछिल्लो पटक १ सय ६२ जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइएको थियो। 

त्यसमध्ये बुधबार १५, बिहीबार २५ र शुक्रबार २७ जनामा संक्रमण पुष्टि भएको हो। सङ्क्रमित पुष्टि भएका उनीहरूलाई पाठामारीको जानकी आधारभूत र केचनाको महेन्द्र रत्न माविको क्‍वारेन्टाइनमा राखिएको थियो। 

बिहीबार र शुक्रबार पुष्टि भएका सङ्क्रमित महेन्द्र रत्न माविको क्‍वारेन्टाइनमा बसेका थिए। उनीहरू समूह बनाएर भारतको सङ्क्रमित क्षेत्र दिल्ली, मुम्बईबाट गाउँ फर्किएका हुन्। उनीहरूमै संक्रमण देखा परेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए। गाउँघर प्रवेश गर्न नदिएकोले संक्रमण फैलिनबाट गाउँवासी समयमै जोगाउन सफल भएको उनले बताए। 

कचनकवलमा क्‍वारेन्टाइनमा बसेका अन्य व्यक्तिको पनि आज स्वाब संकलन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।यसअघि जिल्लाको बाह्रदशी र गौरदाहमा दुईदुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एकएक जना थपिएका थिए। 

दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन्। झापामा पुष्टि भएका संक्रमित प्रदेश १ कै जिल्लामा सबैभन्दा बढी भेटिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.