बैतडी : नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट दुई दिनमा ८ सय बढी नेपाली नागरिकको उद्धार गरिएको छ। शुक्रबार २ सय ८३ र बिहीवार ५ सय ७६ जनालाई स्वदेश भित्र्याइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
साथै ९ भारतीय नागरिकलाई पनि पठाइएको उनले बताए। भित्रिएका उनीहरुको सामान्य ज्वरो मात्र जाँचिएको छ। सम्बन्धित जिल्लामा उनीहरुलाई पठाइएको छ।उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
‘कोरोना परीक्षणबिनै भित्र्याइँदा जोखिम बढ्यो’
भारतका विभिन्न सहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै ल्याइँदा कोरोना संक्रमणको जोखिम बढेको छ। अधिकांश संक्रमित भारतबाटै आएकाले बिनापरीक्षण भित्र्याइँदा कोरोनाको खतरा बढेको जिल्लाका स्थानीयहरुले बताएका छन्।
यसअघि जेठ ९ गते पनि उक्त नाकाबाट ३ सय ७८ जनालाई स्वदेश ल्याइएको थियो। नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आआफ्ना देशमा आवतजावत गर्न दिइएको हो। झुलाघाट नाका भोलि पनि खुल्लै रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।