उच्चस्तरीय संसदीय समिति बनाउन माग

|

काठमाडौं : नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको हत्यकाण्डको सरकारले गम्भीर छानविन गर्नुपर्ने माग गरेको छ। 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको गर्दै संघले यस्तो माग गरेको हो । उक्त घटनालाई कुनैपनि हालतमा तोडमोड गर्न नहुने संघको भनाई छ। 

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्वकार्यवाहक अध्यक्ष मञ्जीत ताम्राकारले २१औं शताब्दीमा यस्तो घटना हुनु निन्दनीय भएको बताए। 

आफूहरु लकडाउन उल्लंघन गरेर भएपनि रुकुम घट्नामा संलग्न दोषीलाई कारबाहीको लागि सडकमा उत्रिएको ताम्राकारले स्पष्ट पारे । 

‘यो घटना दलित समूदायमाथि मात्रै भएको घट्ना होइन। जनार्दन शर्माको निर्देशनमा यो घटना भएको हो’, उनले भने, ‘संसदमा उहाँ बोल्दै गर्दा पीडक बचाउने अभिव्यक्ति दिनुभएको थियो। नवराज बिकलगायत युवालाई गाउँमा हत्या गरेर भेरी नदीमा बगाइएको छ।’

उनले जतिसक्दो चाँडो यो घट्नाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने पनि माग गरे। 

‘उच्चस्तरीय संसदीय छानबिन समितिले मात्रै निष्पक्ष छानबिन गर्छ। निष्पक्ष छानबिन हुनु भनेको पीडितले न्याय पाउनु हो। र, दोषीहरु उम्किन नपाउनु हो’, उनले भने, ‘नवराज बिकहरुले न्याय पाउने हो ।’ 

घटनाको बारेमा सत्य, तथ्य बाहिर आउने भएकोले वर्तमान सरकारले अहिले उच्चस्तरीय संसदीय समिति बनाउन नचाहेको उनले आरोप लगाए। 

‘हिजो पूर्व गृहमन्त्री जनार्दन शर्माले मन परेको व्यक्ति र उहाँले संरक्षण दिएको व्यक्तिलाई अहिले संयोजक बनाएर यो घटनाबारेमा छानबिन समिति बनाइएको छ’, उनले भने, ‘उहाँहरु दोषीहरुलाई उम्काउन खोज्दैहुनुहुन्छ। घटना तोडमोड गर्न खोज्दै हुनुुहुन्छ। दलितहरुको रगतमाथि होली खेल्ने अधिकार जनार्दन शर्मालाई छैन। उहाँको पार्टीलाई पनि छैन।’

उनले उक्त घटनालाई नरसंहारको संज्ञा दिए । उनले नवराजलगायत अरु मृतकका परिवारले न्याय नपाउँदासम्म आन्दोलन र संघर्ष सशक्त बनाउने पनि बताए।
‘यो घटना तोडमोड गर्नुहुँदैन। राजनीतिक रंग दिनुहुँदैन। कसैको दबाबमा त्यसो गर्न खोजिए ठीक हुँदैन’, उनले भने, ‘यदि न्याय नपाए हामी अन्तर्राष्ट्रिय अदालतमा जान्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.