किट अभावमा कोरोना परीक्षण भने हुन सकेन

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका २७ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट २७ हजार जनाको कोरोना परीक्षण गरिएको हो।  

शुक्रबारसम्म पिसिआर विधिबाट ५ हजार ३ सय ७९ जनाको र २१ हजार ६ सय २१ जनाको ¥यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। तीन सय ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। 

पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म यहाँका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएकामध्ये पाँच जना निको भएर घर गएका छन् भने १६ जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन्। 

कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्। हालसम्म आरडिटी गरिएकामध्ये ९५ जनामा पोजेटिभ देखिएको छ। जसमा ७० जनाको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार २५ जनाको पिसिआर परीक्षणको क्रममा रहेको छ।

दार्चुला र बझाङमा पनि संक्रमित भेटिए

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २१ पुगेको छ। बिहीबार चार जनामा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो पटक थपिएका संक्रमित कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष, दार्चुलाको महाकाली नगरपालिकाका ५ का २१ वर्षीय पुरुष र बझाङका ५५ वर्षीय पुरुष छन्। बझाङका संक्रमितको सुर्खेतमा परीक्षण भएको हो भने अन्य तीन जनाको धनगढी प्रयोगशालामा परीक्षण भएको हो। बझाङका संक्रमित सुर्खेतमा उपचार भइरहको छ।

नयाँ थपिएका संक्रमित चारमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा छन्। सुदूरपश्चिममा मंगलबार दुई जना कोरोना संक्रमित थपिएका थिए। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप दुई जनमा कोरोना पुष्टि भएको थियो। 

कैलालीको जानकी गाउँपालिका–३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीय बालिकामा कोरोना देखिएको थियो। अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरेकी थिइन्। उनका बुवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। सेती अस्पतालमा उनको उपचार भइरहेको छ। 

कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्‍वारेन्टाइनमा थिए। उनी पनि भारतबाट आएका थिए। टीकापुर अस्पतालमा उनको उपचार भइरहेको छ। क्‍वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो। यसअघि गत शुक्रबार, शनिबार र आइतबार गरी सुदूरपश्चिमका १० जनामा कोरोना पुष्टि भएको थियो। 

धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजेटिभ देखाएका हो। शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्‍वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।  उनीहरू टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा छन्।  

शनिबार बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। आइतबार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो।

कोरोना शंकास्पद २ सय ५ बिरामी डिस्चार्ज

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका २ सय ५ जना डिस्चार्ज भएका छन्। प्रदेशभरका १५ वटा अस्पतालबाट अहिलेसम्म २ सय ५ बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

सेती प्रादेशिक अस्पतालबाट हालसम्म ७७ जना, डडेल्धुरा अस्पतालबाट २३, बयलपाटा अस्पतालबाट २१ र जिल्ला अस्पताल अछामबाट १५ जना, जिल्ला अस्पताल बझाङ र डोटीबाट १२–१२ तथा महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन्।  

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल बैतडीबाट ८ र जिल्ला अस्पताल बाजुराबाट ७ जना, टीकापुर अस्पतालबाटबाट ६, गोकुलेश्वर अस्पतालबाट ५, भजनी स्वास्थ्य केन्द्राबाट ४, चौमला स्वास्थ्य केन्द्रबाट ३, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्। उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसमा राखिएको तर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ।

संक्रमितसहित ३० जना आइसोलेसनमा

निर्देशनालयका अनुसार कोरोना संक्रमित र शंकास्पद बिरामी गरी शुक्रबारसम्म ३० जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। टीकापुर अस्पतालमा ११, सेती प्रादेशिक अस्पतालमा ९, महाकाली अस्पताल कञ्चनपुरमा ४ जना, जिल्ला अस्पालत बाजुरामा ३ जना, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल दार्चुला र जिल्ला अस्पताल बैतडीमा एक–एक जनालाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ।

३२ हजार ७ सय ३२ जना क्‍वारेन्टाइनमा 

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका क्‍वारेन्टाइनमा ३२ हजार ७ सय ३२ जना बसिरहेका छन्।  जसमा २८ हजार ९ सय २२ पुरुष छन् भने तीन हजार ८ सय १० महिला छन्। 

पछिल्लो समय दिनहुँ भारतबाट हजारौंको संख्यामा नेपालीहरू स्वदेश फर्किएपछि यहाँका क्‍वारेन्टाइन भरिएका हुन्। नेपालीहरू आउने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ। लकडाउनका कारण भारतमा रोजगारी गुमाएका तथा अलपत्र परेका नेपाली देश फर्किरहेका हुन्।

किट अभाव

सुदूरपश्चिममा कोरोना परीक्षणका लागि किट अभाव रहेको छ। यहाँका क्‍वारेन्टाइनमा बसेकाहरूको किट अभावका कारण कोरोना परीक्षण हुन सकेको छैन। 

सुदूरपश्चिममा रहेका स्वास्थ्य कार्यालय र यहाँका पालिकाहरूमा ४ हजार ७ सय ६ आरडिटी किट मात्रै मौज्दात रहेको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिममा एक हजार ९ सय ४३ भिटिएम मात्रै मौज्दात छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.