|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पूर्ण क्षमतामा सञ्‍चालन गर्न हव अस्पतालका व्यवस्थापनलाई निर्देशन दिएका छन्। 

हव अस्पतालका प्रमुखहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर मन्त्री ढकालले पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन्।

केही दिनदेखि उपचारबारेमा गुनासोसमेत सुनिएको भन्दै मन्त्री ढकालले कुनै पनि गुनासो आउन नदिने गरी अस्पताल सञ्चालन गर्न निर्देशन दिएका हुन्। 

एकले अर्कोलाई गुनासो गरेर बस्ने समय नरहेको भन्दै मन्त्री ढकालले योजना अनुसार पूर्ण क्षमतामा काम गरेर अब्बलता देखाउन अस्पतालका प्रमुखहरुलाई निर्देशन दिए।

उनले सूचना प्रणाली समेत बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले हब र हब अस्पतालले मन्त्रालयलाई रिपोर्टिङ गर्ने गरी काम गर्न निर्देशन दिए। 

ढकालले नीति, निर्देशिका, कार्यबिधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताए। 

कुनै पनि अस्पतालाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

मन्त्री ढकालले मानवश्रोतको परिचालनसबन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा बेडको व्यवस्थापन पूर्व तयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिए। उनले बिरामी रिफरका लागि स्वास्थ्य आपत्कालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्न समेत निर्देशन दिए।

त्यस अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, विरेन्द्र सैनिक अस्पतालका डा उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा विष्णुप्रसाद शर्मा, सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक डा दीर्घाराज आरसी उपस्थित थिए।

त्यसैगरि भक्तपुर अस्पतालका डा सुनिल ढुंगेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्रालयका विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुख डा गुणराज लोहनी पनि उपस्थित थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.