|

बारा : कोरोना संक्रमणबाट मृत्यु भएका करैयामाई गाउँपालिकाका वृद्धका परिवार र मलामीको कोरोना परीक्षण अझैं सकिएको छैन।

जिल्ला जनस्वास्थ्य कार्यालय बाराले शुक्रबारदेखि परीक्षण थाले पनि किट अभावमा १२ जनाको मात्रै कोरोना परीक्षण गरेर टोली फर्किएको करैयामाई गाँउपालिका वडा नम्बर ७ का अध्यक्ष विरिज चौधरीले बताए। 

मृतकको परिवार, आफन्त र मलामी गएका गरी ३६ जनाको परीक्षण गर्नुपर्ने भए पनि किट अभावमा सबैको परीक्षण हुन नसकेको अध्यक्ष चौधरीले बताए। संक्रमण पुष्टि भएको तीन दिनसम्म पनि कोरोना परीक्षण नभएको भन्ने समाचार प्रकाशित भएपछि टोली आएको थियो।

मृतकका जेठा छोराले परिवारका १२ जनाको परीक्षण भएको र अरु आफन्त जना २२ को परीक्षण बाँकी रहेको बताए। आफन्त र मलामीहरुको परीक्षण नहुँदा त्रासमा बस्नु परेको उनको भनाइ छ।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नौ दिनमा कोरोना संक्रमण पुष्टि भएको बाराका करैयामाई गाउँपालिका ७ उमजनका मृतक परिवार अझैं घरमै छन्।

३६ जना क्वारेन्टाइनमा 

मृतकको परिवार र आफन्तसहित ३६ जनालाई गाउँकै जनता माध्यमिक विद्यालयको एक भवनमा क्वारेन्टाइन बनाएर राखिएको छ। संक्रमितको सम्पर्कमा आएका परिवारका सदस्यसहित स्थानीयलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्नेमा संक्रमण पुष्टि भएको तीन दिनपछि मात्र क्वारेन्टाइनमा राखिएको हो।

वीरगञ्जको नेसनल मेडिकल कलेजमा जेठ ४ मा मृत्यु भएका कोरोना संक्रमित वृद्धको धार्मिक परम्पराअनुसार स्थानीय गाउँ नजिकैको खोला अन्त्येष्टि गरिएको थियो। क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ मा अस्पातलको भेन्टिलेटरमा भर्ना गराएका थिए।

मृतकको परिवारलाई जानकारी नगराई अस्पतालले उनको स्वाब संकलन गरेको थियो। स्वाबको वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उपचारकै क्रममा निधन भएपछि अस्पतालले शव परिवारको जिम्मा लगाएको थियो। रिपोर्ट नआउँदै शव परिवारको जिम्मा लगाएपछि अस्पताल वरुद्ध पर्सा प्रशासनले कारवाही गर्ने निर्णय गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.