|

सिमरा (बारा) : औद्योगिक करिडोर, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडांै–तराई जोड्ने निमार्णधीन फास्टट्रयाक बारा जिल्लालाई राष्ट्रिय रुपमा चिनाउने आधारहरु हुन्।

तर, बारालाई चिनाउन सक्ने चारकोसे झाडीभित्र अति सुन्दर र रमणीय  सिमसार क्षेत्रहरु पनि छन्। ‘हामीकहाँ अत्यन्त रमणीय र सुन्दर सिमसार क्षेत्रहरु छन्, जसको प्रचारप्रसार र संरक्षणको अभावमा लोप हुने अवस्थामा पुग्दैछन्,’ डिभिजन वन कार्यालय बाराका अधिकृत अनिलकुमार साहले भने, ‘यस वर्षदेखि हामीले प्रत्येक सामुदायिक र साझेदारी वन समितिलाई पत्र पठाएरै  सिमसार क्षेत्रको तथ्यांक माग गरेका छौं’

डिभिजन वन कार्यालय बाराले चालु आर्थिक वर्षमा सिमसार क्षेत्र संरक्षणका लागि वन्यजन्तु, चराचुरुङ्गीलाई पिउने पानीको व्यवस्था, डढेलो नियन्त्रणको कार्यकम्र सञ्चालन गरेको छ। जसका लागि  डिप बोरिङसहित तीनवटा नयाँ पोखरी निर्माण, १५ वटा प्राकृकित पोखरीको मर्मतसम्भार तथा संरक्षणको काम सुरु भएको छ। 

अधिकृत साहले भने, ‘पहिलो पटक बाराको सिमरासार क्षेत्र संरक्षणका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएर कामको शुरुवात गरेका छौं।’

४७ हजार १८२ हेक्टर क्षेत्रफल रहेको बाराको राष्ट्रिय वन क्षेत्रभित्र ४१ वटा सामुदायिक र चारवटा साझेदारी वन समिति छन्। जिल्लाको उत्तरी भेगको वन क्षेत्रभित्रका सिमसार वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान मात्रै होइन दक्षिण भेगमा बग्ने नदीका स्रोत समेत हुन्।

यस वर्ष तामागढी साझेदारी वन समिति, बाघभैरव सामुदायिक वन समिति र जनजागृति सुन्दर सामुदायिक वन समितिभित्र तीनवटा नयाँ पोखरी निर्माण र अन्य १५ वटा पुराना तालतलैया, पोखरीहरुको संरक्षण तथा मर्मतको काम वन कार्यालयले थालनी गरेको छ। 

‘सिमसार क्षेत्र सरक्षणका लागि हाम्रो साझेदारी वन क्षेत्रभित्रको धेरै काम अगाडि बढिसक्थ्यो तर लकडाउनले केही ढिला हुने भयो,’ तामागढी साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र पनवरले भने, ‘हाम्रो उद्देश्य पोखरीमा वर्षातको पानी जम्मा गर्ने, वन्यजन्तु र चराचुरुङ्गीलाई बाह्रैमास पिउने पानीको व्यवस्था गर्ने र डढेलो नियन्त्रण गर्नु हो।’

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले फ्याँकेको प्रदूषणको कारण बाराको चारकोसे झाडीभित्र रहेका सिमरासार क्षेत्रहरु संरक्षण अभावमा संकटमा पर्दै गएका छन्। तामागढी साझेदारी वनअन्तर्गतको पातालगंगा सिमसार क्षेत्र सबैभन्दा ठूलो मानिन्छ। यसले तराईको धेरै खेतीयोग्य जमिन सिंचाइमा मद्दत पुर्याएको डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले बताए।

‘हामीले सिमसार क्षेत्र संरक्षण गर्यौं भने यसको फाइदा वन्यजन्तु, चराचुरुङ्गी मात्रै नभएर तल्लो भेगका उपभोक्ता र किसानहरुले समेत सजिलै लिन सक्दछन्,’ अहमद भने, ‘आज हामीले सिमसार क्षेत्र संरक्षण व्यवस्थापन गर्न सके यसको फाइदा अगामी पुस्ताले समेत लिन सक्छन्।’

सिमसारमा आत्मनिर्भर समुदाय 

बाराको वन क्षेत्रभित्र रहेका सिमसार क्षेत्र आसपासका  स्थानीयहरुले सिमसार क्षेत्रमा पाइने निउरो, कर्कलो, घोगी, माछा, जडिबुटी बेचबिखन गरेर गुजारा चलाउँदै आएका छन्।

‘बिहान खाना खाएर आउँछौ, २÷३ घन्टामा एक झोला साग टिपेर बेच्दा २/३ सय रुपैयाँ आउँछ,’ स्थानिय संगिता चौधरीले भनिन्, ‘निउरो, कर्कलो, घोगी मार्छौं, अहिले लकडाउनले गाउँगाउँमा बेच्न जान त पाइँदैन। मान्छेहरु घरमै किन्न आउछन्।’

पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि सिमसार क्षेत्रमा समेत स्थानीयहरुको चहलपहल झनै बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.