|

सल्यान : सल्यानमा पहिलो पटक व्यवसायिक रेशम खेती शुरू गरिएको छ। जिल्लाको शारदा नगरपालिका २ जोगी देउखोलामा व्यवसायिक रेशम खेती शुरू गरिएको हो।

सूर्योदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी तीन यूवा मिलेर रेशम खेती शुरू गरेका हुन्‌। आफु स्वरोजगार बन्ने र स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले कषि फर्म सञ्चालन गरिएको उनीहरूले बताएका छन्‌।

७२ रोपनी जग्गा भाडामा लिएर रेशम खेती शुरू गरिएको नारायण दाहालले जानकारी दिए। उनले भने, ‘अहिले ४० हजार किम्बुको बिरुवा रोपिएको छ।’ दाङबाट किम्बुको बिरुवा ल्याएर रोपेको र मंसिर-पुस महिनादेखि पहिलो चरणको रेशम उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए। 

फर्म दर्ता, जग्गा भाडा, किम्बुका बिरुवा खरिद देखी अहिले सम्म करिब ५५ लाख रुपैयाँ खर्च भएको उनको भनाई छ। उनले पश्चिम नेपालमा रेशम खेतीको राम्रो सम्भावना देखेर सल्यानमा खेती गर्न थालिएको उनले बताए।

रेशम खेतीसँगै व्यवसायिक आकारमा  हाँस, कुखुरा र बाख्रापालन गर्ने योजना रहेको यज्ञविक्रम शाहले बताए। उनले भने, ‘हामीले रेशम खेती शुरू गरेका छौँ, यसलाई व्यवस्थित गर्दै करिब एक हजार हाँस, एक हजार लोकल कुखुरा र उन्नत जातका ७० बढी बाख्रा पालन गर्ने योजना छ, त्यसका लागी पहिलो चरणको काम सम्पन्न गरेका छौँ’।

रेशम खेती गर्दा किम्बुको घाँस पनि प्रयोगमा आउने गरी बाख्रापालन गर्ने तयारी गरिएको उनको भनाई छ। आसपासका क्षेत्रमा रेशम प्रशोधन केन्द्र नभएकाले यहाँ उत्पादन भएको रेशमलाई धादिङ पठाउने योजना रहेको उनले बताए।

‘रेशम खेती गर्न शुरूमा समस्या हो, रेशमको धागोको बजार माग राम्रो छ, शुरूमा हामीले यहाँको रेशम जिल्ला बाहिर पठाउछौँ, पछि जिल्लामा नै प्रशोधन केन्द्र सञ्चालन गर्ने आगामी योजना छ’ उनले भने। फर्ममा अहिले तीन जनालाई रोजगारी समेत दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.