जसले नारायण गोपाल, प्रेमध्वज, फत्तेमानलाई चम्काए
जसले नारायण गोपाल, प्रेमध्वज, फत्तेमानलाई चम्काए
काठमाडौं : ‘घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन, आँखा तिमी जुधाउन। बाँधिए माया फेरि गार्हो हुन्छ, फुकाउन, फुकाउन। घुम्तीमा नआऊ है।' यो कर्णप्रिय गीत सबैको जनजिब्रोमा अहिले पनि झुण्डिएको छ। अझ भनौ कसै न कसैलै एकपटक नगुन्गुनाएको होस। सुमधुर र प्रेमिल गीतका रचनाकार रत्न शमशेर थापा हुन्।
तीन दिन अगाडि नेपालको साङ्गीतिक क्षेत्रले एउटा ‘हिरा’ गुमाएको छ। बिहीबार थापाथलीको नर्भिक अस्पतालबाट सदाको लागि अन्तिम श्वास फेरेर अदृश्य भए उनै रत्न शमशेर थापा। मेरुदण्डको समस्याले थलिएका थापा केही समयदेखि घरमै आराम गरिरहेका थिए। बुधबार राति उनलाई अचानक घाँटीमा समस्या आएपछि नर्भिकमा भर्ना गरिएको थियो।
तीर्थशमशेर थापा र तुलाकुमारीका एउटै सुपुत्रका रूपमा काठमाडौंको कमलपोखरीमा १९९६ सालमा रत्नशमशेर जन्मिएका थिए । आफ्नो जीवनकालमा उनले १२ सयभन्दा धेरै गीत लेखेर नेपालको आधुनिक सङ्गीतमा अमूल्य-अतुल्य योगदान गरे। उनको सङ्गतमा रहेकाहरु नेपाली गीतको आयामलाई नयाँ रुप दिने हिराको रुपमा सम्झन्छन्।
‘ए कान्छा ठट्टैमा’, ‘गोरेटो त्यो गाउँको,’ ‘विछोडको पीडा’, ‘घुम्तीमा नआऊ है,’ आँखैमा रात गली,’ ‘उकाली ओराली गर्दै’ जस्ता अनेकौं गीत उनले नेपाली सङ्गीतलाई सुम्पिएर गएका छन्।
रत्न शमशेर जीवनको प्रारम्भिक चरणमा कविता लेखेर साहित्यमा छिरेका थिए। तत्कालीन समयमा नेपाली सङ्गीत क्षेत्रमा गीति साहित्यको अभाव खट्केको महसुस गरिएको थियो। नेपाली सङ्गीत क्षेत्रमा उक्त अभावलाई पूर्ति गर्न रत्न शमशेरले कलम चलाउन थालेका थिए। नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा पछाडि गीतिकविताका क्षेत्रमा रहेर गीति साहित्यलाई नयाँ आयाम दिएर अगाडि बढाउने व्यक्तित्वमा थापा पनि एक थिए।
सरकारको श्रद्धाञ्जली व्यङ्ग्य जस्तै
नेपाली गीत र कविताको क्षेत्रमा रत्न शमशेरको ठूलो योगदान रहेको साहित्यकार नरेन्द्रराज प्रसाई बताउँछन्। ‘थापा नेपाली गीत सङ्गीतका क्षेत्रमा लागेको पुराना पुस्तामध्येमा धेरैभन्दा धेरै स्वाभिमानी सर्जक थिए' प्रसाईले भने।
‘थापाको हे कान्छा ठट्टैमा यो बैंस जान लाग्यो', गीत रेडियो नेपालमा बजिरहेको समयमा रत्न-भैरवीको विवाह भइरहेको थियो । यो कुरा रत्न दाइकी श्रीमती भैरवी भाउजूले मलाई भन्नु भएको थियो ।' प्रसाईले थपे- 'रत्न दाइले १२ सय गीत लेख्नु भएको छ। ३ सय २५ वटा गीत रेडियो नेपाल, रत्न रेकर्डिङ संस्थान, म्युजिक नेपाल आदि ठाउँबाट रत्न दाइका गीत रेकर्ड भएका छन्।'
नेपालका पुराना नाम चलेका गायकहरुलाई स्थापित गर्ने योगदान पनि थापा रहेको प्रसाई सम्झिन्छन्। नारायण गोपाल, प्रेमध्वज, फत्तेमान र माणिकरत्नलाई स्थापित गायक बनाउनुमा उनको पनि हात रहेको प्रसाईंले सुनाए।
नेपालका सत्ताधारी पार्टीका व्यक्तिहरुले रत्नशमशेर थापाको नाम नसुनेको बताउँदै प्रसाईले थपे- त्यसैले हामीले उनका बारे जति चिच्याए तापनि उनीहरूले कान सुनेनन् र रत्न शमशेरहरू प्राज्ञ बनेनन् । ‘उनीहरुले रत्न शमशेर थापा यस्ता थिए उस्ता थिए भनेर अब श्रद्धाञ्जली अर्पण नगरेकै राम्रो होला ।
उनीहरूले रत्न शमशेरलाई श्रद्धाञ्जली चढाए भने त्यो ठूलै व्यङ्ग्य हुन जाला।’ प्रसाईले भने- 'देशमा गणतन्त्र आएपछि झन् सारो कदर हुनु पर्ने होइन र ? तर त्यसपछि कहलिएका साहित्यकारलाई कहिले पनि प्राज्ञ बनाइएन। जहाँ सत्ता र पार्टीका नाममा नारा लेख्नेलाई मात्रै नेता र मन्त्रीले चिन्ने गरे र अहिले त्यस्तै मान्छे प्राय: प्राज्ञ छन्।'
रत्न शमशेरले बनाए नारायण गोपाल
नेपाली गीत संगीतमा लागेका धेरै संगीतका पारखीहरुलाई संगीतको शिखरमा पुर्याएकामध्ये रत्न शमशेर थापा एक रहेको उपन्यासकार, चलचित्रकर्मी एवम गीतकार चेतन कार्की बताउँछन्। ‘अझ भन्ने हो भने नारायण गोपाललाई स्वर सम्राटको उपाधि दिइए जस्तै गीति लेखनको क्षेत्रमा रत्न शमशेर थापालाई दिनुपर्ने थियो,’ गीतकार कार्कीले भने,'नेपाली गीत संगीतको क्षेत्रमा एक उज्यालो नक्षत्रको रुपमा सधैँ रहिरहने छन्।'
थापाले नेपाली गीत संगीतको क्षेत्रलाई फरक धारबाट छुट्टै उचाईमा लगेको बताउँदै कार्कीले सांगीतिक क्षेत्रका नयाँ पुस्ताले त्यसलाई जोगाइराख्नु पर्नेमा उनको सुझाव छ। उनले भने,’नेपालमा गीतमा विम्ब र प्रतीकको प्रयोग गर्ने अहिलेसम्म त्यस्तो कुनै पनि गीतकारहरु जन्मेका छैनन्। संगीतमा उच्च लगाव भएका व्यक्तित्वका रुपमा उहाँ चम्किरहनुहुनेछ।'त्रिचन्द्र कलेजमा अध्ययन गर्दा बिरामी भएपछि पढाईमा उनको पूर्ण विराम लागेको थियो। २०१२ सालदेखि १५ सम्म जोगबनीको चिनी कारखाना पनि काम गरेका थिए रत्न शमशेरले। बाँकी जीवन गीतका लागि समर्पित गरेको कार्कीले बताए।
राज्यबाट अनेकौ दुःख पाएका गीतकार
रत्न शमशेरले राज्यबाट पञ्चायतकालीन अवस्थामा निकै नराम्रो व्यवहार भोगेको अर्थविद तथा गीतकार विश्वम्भर प्याकुरेल बताउँछन। उनका अनुसार कतिपय गीत प्रतिबन्धित थिए। देशभक्ति भावना समेटिएका साथै मानिस भावना र समाजको प्रतिविम्व समेटरे पनि उनले गीत लेख्ने गरेका थिए।
रत्न शमशेरको निधनले नेपाली गीत संगीत क्षेत्रमा ठूलो क्षति भएको प्याकुरेलले बताए। पुरानो पुस्ताले नै नेपाली गीत संगीतलाई धानेको उनको विश्वास छ। ‘नयाँमा धैर्यता र शब्दमा भाव नभएको पाइन्छ,’ उनले भने, 'आज पनि रत्न शमशेरको गीत उत्तिकै लोकप्रिय छ। उनका गीतका हरेक शब्द जीवन्त छन्। जीवन्त नहुने गीत र साहित्यको महत्व छैन।' रत्न शमशेरको गीतमा श्रोता हराउन सक्ने क्षमता रहेको उनी बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।