|

बागलुङ : तराईमा भारतबाट भित्रिएका र स्थानीय क्‍वारेन्टाइनमा बसेकालाई सामूहिक रुपमा राखिएको छ। यसले ती क्षेत्रमा बनेका क्‍वारेन्टाइन सुरक्षाका लागि नभई संक्रमण बढाउन राखिएका झैं भएका छन्। 

गलकोटबाट गएका १४ जना मजदुरलाई संक्रमण भए पछि यो कुरा झनै पुष्टि भएको छ। 

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भएका कसैलाई पनि कोरोना संक्रमण नहुनु र पर्साको क्‍वारेन्टाइनमा गएर बसेको दुई सातापछि संक्रमण देखिनुले पनि क्‍वारेन्टाइनहरु धरापमा छन् भन्ने प्रस्टै भएको छ। ‘हामीले सुरक्षित पठाएकाहरु आफ्नै जिल्लामा पुगेर संक्रमणमा परे, हामीलाई पनि दुःखलाग्दो कुरा भयो’, गलकोट नगरपालिका ३ का अध्यक्ष वीरजंग भण्डारीले भने, ‘निको भएर घर फर्केको पनि समाचार सुन्न पायौं, खुसी पनि भयौं।’ 

निरन्तर संक्रमितलाई गरेको सम्पर्क, संक्रमित भएपछि उनीहरुको उपचार पद्धति र क्‍वारेन्टाइनमै बस्दा पनि भएका हरेक क्रियाकलाप नियाल्दा क्‍वारेन्टाइनमा जोखिम रहेको उनी बताउँछन्। 

‘यस्तै क्‍वारेन्टाइनको भर पर्ने हो भने सातादेखि बागलुङमा भित्रिएका युवाबाट सिंगो समाज संक्रमित हुन्छ’, उनले भने। नेपाल सरकारले तोकेको मापदण्डमा क्‍वारेन्टाइनमा हरेक ६ जनाका लागि एक एक वटा शौचालय र धारा, दैनिक दुई छाक खाना र दुईपटक खाजा, पोसिलो खानेकुरा र सफा पानी तथा साबुन व्यवस्था हुनुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। 
मापदण्ड नपुगी विद्यालयमा कोच्ने तथा बेवास्ता गर्दा बिरामी नभएका पनि हतोत्साही भएर मर्न सक्ने उनले सुझाव दिए। केही दिनदेखि ताराखोला गाउँपालिका र गलकोट नगरपालिकले थप गरेका क्‍वारेन्टाइनलाई मापदण्डको आधारमा तयार गरेको उनले बताए। 

गर्मी मौसम भएकोले लामखुट्टेको जोखिमबाट बचाउनदेखि पोसिलो खाना दिने र नियमित सरसफाइ, तातोपानीको व्यवस्थापन गर्ने सम्मको काममा पहल गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। 

भित्रिएका र भारत तथा बोर्डर क्षेत्रबाट जिल्ला र आफ्नो पालिकामा भित्रनेहरुको नियमित सम्पर्कमा रहेका उनले बताए। आउन चाहने सबै आएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने योजना पनि बनाएको उनले जानकारी दिए। 

लगानी धेरै गरेर, धेरै जना राखेर मात्र उपलब्धि हासिल गर्न नसकिने भएकोले मापदण्ड अनुसारको काम गराउन पहल भएको समेत गुरौले जानकारी दिए। तर अधिकांश क्‍वारेन्टाइन विद्यालयमा बनाइएका छन्। ती विद्यालयमा सार्वजनिक शौचालय मात्रै छन्। खानेपानीको व्यवस्थापन भए पनि नुहाउने अवस्था छैन। 

दैनिक खाना र खाजा खुवाउने गरी स्थानीय पालिकाले बजेटको व्यवस्थापन गराएका छैनन्। गराएकै स्थानमा पनि कसले उनीहरुको स्याहार गरिदिने भन्ने अन्यौल छ। ‘संक्रमणमा परेकालाई ओसार्न एम्बुलेन्ससमेत नमान्ने पद्धति बसिसकेको छ, अब शंकास्पदको स्याहार सुसारमा कसले साथ दिने?’ धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘स्याहार गर्नेले पनि सुरक्षित पोशाक लगाउने अवस्था भएपछि मात्र क्‍वारेन्टाइन सुरक्षित हुनेछन्।’ अहिले बनेका अधिकांश क्‍वारेन्टाइनमा हलभित्रै दर्जन बढी मानिस सुत्ने, सामूहिक शौचालय र खानेपानीको अभाव भएको बताइएको छ। 

‘कतिपयले चामल मिठो भएन पनि भनेका छन्, तर क्‍वारेन्टाइनहरु मापदण्डका छैनन्’, अधिवक्ता राम शर्माले भने, ‘खान नमिठो भयो भन्न नमिल्ला, तर राखिएका मानिस सुरक्षित बनाउने काम भने स्थानीय तहको हो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.