क्‍वारेन्टाइनमा ४ हजार ६ सय, आरडिटी किट भने ८ सय

|

बैतडी : बैतडीमा भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि आरडिटी कीट अभाव भएको छ। क्‍वारेन्टाइनमा ४ हजार ६ सय बढी नागरिक बसे पनि जिल्लामा ८ सय मात्रै आरडिटी कीट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए। 

सबै पालिकामा पठाएको समेत गनेर अहिले जिल्लामा ८ सय कीट मात्रै मौज्दात छ। क्‍वारेन्टाइनमा बसेकाहरु भारतका बढी कोरोना प्रभावित क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण भने हुन सकिरहेको छैन। यसले जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

क्‍वारेन्टाइनमा बसेकाहरुका आरडिटी मात्रै नभएर पिसिआर परीक्षण गर्नु उपयुक्त हुने मेलौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए। जिल्लामा भारतबाट फर्कने नागरिकको संख्या बढ्दै गएपछि आरडिटी कीट पनि अभाव हुन थालेको स्वास्थ्य कार्यालयका प्रमुुख योगेशप्रसाद भट्टले बताए। 

कीट अभाव भएपछि प्रदेश सरकारसँग कीट उपलब्ध गराउन माग गरिएको छ। 

भिटिएम अभावमा स्वाब संकलनको काम प्रभावित

भिटिएम अभावमा जिल्ला प्रहरी कार्यालयका प्रहरीको कोरोना परिक्षण हुने सकेको छैन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि सबै प्रहरीको पिसिआर परीक्षण गर्ने भनिएको थियो। 

तर थ्रोट स्वाबको नमुना संकलन गर्न भिटिएम अभाव हुँदा सबै प्रहरीको पिसिआर जाँच हुन सकेन। कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि हिरासतमा रहेका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो। 

त्यसपछि संक्रमितको सम्पर्कमा रहेका ४८ प्रहरीको पिसिआर परीक्षण गरिए पनि अन्यको भने हुन नसकेको बैतडीका प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत अन्य २८ जनाको अहिलेसम्म पनि पिसिआर परीक्षण हुन नसकेको उनले बताए। साथै सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत प्रहरीको पनि कोरोना परीक्षण हुन सकेको छैन। 

उक्त नाकाबाट उद्धार कार्य जारी रहँदा ती प्रहरीको कोरोना परीक्षण पनि अनिवार्य रहेको पाण्डेयले बताए। यसअघि परीक्षण गरिएका ४८ प्रहरीसहित ९९ जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.