राजपा नेता शुक्रबार पुगेका थिए संसद सचिवालय

|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ नक्सालाई आधिकारिकता दिन गरिने संविधान संशोधनका क्रममा मधेसवादी दलको पनि माग पूरा गर्नुपर्ने अडान लिएका छन्।

पार्टी मुख्यालय सानेपामा बसिरहेको नेपाली कांग्रेस कार्य समितिको बैठकमा नेता निधिले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालसहितले उठाउँदै आएको संविधान संशोधनको मागलाई अहिले नै सम्बोधन गरेर जानुपर्ने मत राखेका हुन्। 

'मधेसवादी दलहरुले उठाएका मुद्दालाई पनि यतिखेर सम्बोधन गरेर जाऊ', निधिले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एकजना नेताले थाहाखबरसँग भने, 'भारतले हडपेको जमिनसहितको नक्सालाई संविधानमा समावेश गर्ने क्रममा यी माग पनि पूरा गरेर अघि बढ्ने गरी कांग्रेसले निर्णय गर्नुपर्छ। 

बैठकमा निधिसहितका केही नेताहरुले यो धारणा राखे पनि अधिकांश नेताले अहिले भारतले हडपेको भूमि समेटेर जारी गरिएको नक्साको पक्षमा एकढिक्का भएर उभिनुपर्ने मत राखेका थिए।

'कालापानी, लिम्पियाधुरा,लिपुलेकसमेत भएको नक्साको पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिने कुरामा नेतृत्वबीच सहमति जुटिसकेको छ', ती नेताले भने, 'बैठक चलिरहेकाले नयाँ नक्सका लागि प्रस्ताव गरिएको संविधान संशोधनको पक्षमा उभिने गरी औपचारिक निर्णय हुनेछ।'

शुक्रबार मात्रै राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो संविधान संशोधनको प्रस्ताव लिएर संसद सचिवालय पुगेका थिए। तर संसद सचिवालयका महासचिव भरतराज गौतमले उनीहरुलाई फर्काइदिएका थिए।

मधेसवादी दलले नागरिकताको प्रावधान खुकुलो बनाउँदै विदेशबाट बिहे गरेर आउनेलाई तत्काल नागरिकता दिनुपर्ने, प्रदेशको सिमाना हेरफेर गर्दा सम्बन्धित प्रदेशले निर्णय लिन पाउनुपर्नेसहितका प्रावधानसहित संविधान संशोधनको मुद्दा उठाइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.