९ मध्ये ७ जिल्लामा संक्रमित भेटिए, जाँच गर्न २४ हजार आरडिटी किट प्राप्त

|

डडेल्धुराः सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा झन्डै ३७ हजार व्यक्ति बसिरहेका छन्। शनिबारसम्मको तथ्याङ्कअनुसार प्रदेशअन्तर्गत ९ वटा जिल्लाका क्वारेन्टाइनमा ३६ हजार ९९३ जनालाई राखिएको छ।

सबैभन्दा बढी कैलालीमा ९ हजार ४३३ जना क्वारेन्टाइनमा छन्। त्यसपछि डोटीमा ६ हजार ३२० रहेका क्वारेन्टाइनमा बसिरहेको प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीले जनाएको छ।

यस्तै, कञ्चनपुरमा ५ हजार ५९२ जना, बैतडीमा ४ हजार ६२६, डडेल्धुरामा ३ हजार ४४७, अछाममा २ हजार ९२०, बाजुरामा एक हजार ९३९, बझाङमा एक हजार ८७२ र दार्चुलामा सबैभन्दा कम ८४४ जना क्वारेन्टाइनमा बसेका छन्। प्रदेशभरका क्वारेन्टाइनमा बस्नेमध्ये ३२ हजार ६३८ पुरुष छन् भने ४ हजार ३५५ जना महिला छन्।  

पछिल्लो समय दिनहुँ भारतबाट हजारौंको संख्यामा नेपालीहरू स्वदेश फर्किएपछि यहाँका क्वारेन्टाइन भरिएका हुन्। नेपालीहरू आउने क्रम दिनहुँ बढ्दै गइरहेको छ। लकडाउनका कारण भारतमा रोजगारी गुमाएका तथा अलपत्र परेका नेपाली देश फर्किरहेका छन्‌।

२७ हजार बढीको कोरोना जाँचियो

सुदूरपश्चिम प्रदेशका २७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट २७ हजार ३५६ जनाको कोरोना परीक्षण गरिएको हो।  

शनिबारसम्म पिसिआर विधिबाट ५ हजार ५३६ जनाको र २१ हजार ८२० जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। पाँच सय ४५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ।  

पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म यहाँका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएकामध्ये पाँच जना निको भएर घर गएका छन् भने १६ जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन्। 

कोभिड-१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्। 

हालसम्म आरडिटी गरिएकामध्ये १०० जनामा पोजेटिभ देखिएको छ। जसमा ७० जनाको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार २१ जनाको पिसिआर परीक्षणको क्रममा रहेको छ।

सुदूरका ७ जिल्लामा पुग्यो कोरोना

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २१ पुगेको छ। सुदूरपश्चिमका ९ वटा जिल्लामध्ये ७ जिल्लाका व्यक्तिमा कोराना संक्रमण देखिएको छ। 

कैलालीका १० जना, बैतडीका पाँच, अछामका दुई, डडेल्धुरा, कञ्चनपुर, दार्चुला र बझाङका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस प्रदेशका डोटी र बाजुरामा कोरोनाका बिरामी फेला परेका छैनन्।

कोरोना शंकास्पद २०७ जना डिस्चार्ज

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका २०७ जना डिस्चार्ज भएका छन्। प्रदेशभरका १५ वटा अस्पतालबाट अहिलेसम्म २०७ बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

सेती प्रादेशिक अस्पतालबाट हालसम्म ७८ जना, डडेल्धुरा अस्पतालबाट २३, बयलपाटा अस्पतालबाट २१ र जिल्ला अस्पताल अछामबाट १५ जना, जिल्ला अस्पताल बझाङ र डोटीबाट १२-१२ तथा महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल बैतडीबाट ८, जिल्ला अस्पताल बाजुराबाट र टीकापुर अस्पतालबाटबाट ७-७ जना, गोकुलेश्वर अस्पतालबाट ५, भजनी स्वास्थ्य केन्द्राबाट ४, चौमला स्वास्थ्य केन्द्रबाट ३, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्। उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आइसोलेसमा राखिएको तर पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ।

संक्रमितसहित ३० जना आइसोलेसनमा

निर्देशनालयका अनुसार कोरोना संक्रमित र शंकास्पद बिरामी गरी शनिबारसम्म ३० जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। 

टीकापुर अस्पतालमा ११, सेती प्रादेशिक अस्पतालमा ९, महाकाली अस्पताल कञ्चनपुरमा ४ जना, जिल्ला अस्पालत बाजुरामा ३ जना, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल दार्चुला र जिल्ला अस्पताल बैतडीमा एक-एक जनालाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ।

संघीय सरकारले २४ हजार आरडिटी किट पठायो

संघीय सरकारले सुदूरपश्चिमका लागि २४ हजार आरडिटी किट पठाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार सुदूरपश्चिमका लागि २४ हजार आरडिटी किट पठाएको जानकारी दिए। यस्तै कोरोनाका सम्भावित बिरामीको थ्रोट स्वाबको नमुना संकलन गर्न दुई हजार भिटिएम पनि पठाइएको देवकोटाले बताए। 

किट अभावका कारण यहाँका क्वारेन्टाइनमा बसेकाहरूको कोरोना परीक्षण हुन सकेको थिएन। सरकारले किट पठाएसँगै उनीहरूको कोरोना जाँच हुने जनाइएको छ।

सरकारले शनिबार पठाएका बाहेक सुदूरपश्चिममा रहेका स्वास्थ्य कार्यालय र यहाँका पालिकाहरूमा ४ हजार ५०७ आरडिटी किट र एक हजार ५७७ भिटिएम मात्रै मौज्दात छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.